आइएमई ग्रुपको २५ वर्षे यात्रा : नाफाभन्दा सेवामा जोड 

नेपालभ्युज

आइएमई ग्रुपको २५ वर्षे यात्रा : नाफाभन्दा सेवामा जोड 

काठमाडौं । आइएमई ग्रुपले आफ्नो २५ वर्षे यात्रा पूरा गरेको छ । शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै समूहले २५ वर्षे वार्षिकोत्सव मनाएको हो ।

सो समारोहमा नेपाल सरकारका मन्त्रीहरू, राजनीतिज्ञहरू, उच्चपदस्थ कर्मचारीहरू, विभिन्न क्षेत्रका विज्ञहरूसहित आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उपस्थिति थियो ।

साथै, वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

आयोजित आइएमईको२५ औँ वार्षिकोत्सवमा आफ्नो भनाइ राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरे ।

उनले द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेलासमेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको बताए ।

सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधारहरू रहेको प्रस्ट्याए ।

अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरूले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए ।

यिनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे ।

त्यस्तै, सह–संस्थापक तथा अध्यक्ष हेम राज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए ।

यसैगरी, विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।

प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

आइएमई लिमिटेडका बारेमा∶

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन  प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २५ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved