बुटवल । नवलपुरको देवचुली ३ अम्बासमा ९० वर्षीय दिलबहादुर थापाले आफ्नी ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका छन् । बिहीबार राति आफ्नी श्रीमतीको टाउको भित्तामा ठोक्काएर घाइते बनाइ घाँटीमा सल बेरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी तथा सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका आरोपित दिलबहादुरले घटना आफूले घटाएको स्वीकार गरेका छन् । आफ्नो सेखपछि श्रीमतीले दुःख पाउने हो कि भनेर आफूले हत्या गरेको प्रहरीको भनाइ छ ।
‘आफू वृद्ध भएको छु र तलमाथि केही भए श्रीमतीले दुःख पाउली भनेर उसको ज्यान लिएको हुँ, ’ आरोपित दिलबहादुरले प्रहरीमा बयान दिएका छन् ।
जमुना भने स्वास्थ्य अवस्था जटिल भएका कारण केही समयदेखि हिँडडुल गर्ने अवस्थामा थिइनन् । घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी नेपालले बताए ।
घरमा कोही नभएको मौकामा घटना घटेको पाइएको छ । छोरा चित्रबहादुर थापा कामबाट फर्केेर घर आउँदा आमालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Facebook Comment
Comment