बौद्धनाथमा २५६९औं बुद्ध जयन्ती मनाइँदै

नेपालभ्युज

बौद्धनाथमा २५६९औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । “बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर” भन्ने नाराका साथ बौद्धनाथ क्षेत्रमा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने भएको छ ।

भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोगको पावन दिनका रूपमा वैशाख शुक्ल पूर्णिमामा पर्ने बुद्ध जयन्तीको अवसरमा ७७ भन्दा बढी सङ्घसंस्थाहरूको सहभागितामा मूल समारोह समिति गठन गरी विविध कार्यक्रम आयोजना गरिने बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

कार्यक्रमको प्रारम्भ बिहान ८:४५ बजे महाकाल चौरबाट शान्ति र्‍याली हुनेछ । सांस्कृतिक झाँकी, बाजागाजा, विभिन्न जातजातिका परम्परागत पोशाक, बुद्धका जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सम्बन्धी प्रतिमूर्ति सजिएका गाडीहरूसहित र्‍याली तिनचुली हुँदै बौद्धनाथ स्तुपाको परिक्रमा गरेर हायातचौरमा समापन हुनेछ ।

सोही दिन भगवान् बुद्धको अस्तुधातुको दर्शन, पूज्य नाम्खा रिन्पोछेको दर्शन र क्याब्जे जाटुल रिन्पोछेबाट आयु अभिषेक प्रदान गरिने कार्यक्रमसमेत रहेको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले यस पावन अवसरमा सबै धर्मावलम्बी, श्रद्धालु र नागरिकहरूलाई उपस्थित भई बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई आत्मसात गर्न आह्वान गरेको छ ।

यस कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि रहनेछन् । त्यस्तै, पूज्य निधिपति नाम्खा रिन्पोछे र क्याब्जे जाटुल रिन्पोछेको विशेष उपस्थिति रहने क्षेत्र विकास समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved