काठमाडौंमा नेपाल–भारत रङ्ग महोत्सव हुँदै

नेपालभ्युज

काठमाडौंमा नेपाल–भारत रङ्ग महोत्सव हुँदै

काठमाडौं । नेपालमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त महोत्सव यही माघ २३ गतेदेखि सुरु हुने जानकारी दिएको छ ।

प्रतिष्ठाले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सवमा नेपाल र भारतका छवटा नाटक राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन् ।

उनका अनुसार महोत्सव नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुनेछन् । उक्त महोत्सव अहिले भारतमा जारी छ । भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको पनि कुलपति शर्माले बताइन् । उनका अनुसार यही माघ २३ गते सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ ।

यस्तै, माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुने पत्रकार सम्मलेनमा जानकारी गराइएको थियो ।

यसैगरी, महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।

कुलपति शर्माले भनिन्, ‘यस महोत्सवमा सहभागी हुने नेपाल–भारतका चर्चित नाटकका माध्यमबाट केवल प्रस्तुतिमात्र होइन, एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरूको साझा संवाद गराउनुका साथै छिमेकी मुलुसँगको सम्बन्धलाई अझ बलियो बनाउने छ भन्ने विश्वास गरेकी छु ।’

प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाललाई ऐतिहासिक अवसर प्राप्त भएकाले महोत्सवमा सहभागी हुन अनुरोध गरेका छन् । यसरी संयुक्त रूपमा महोत्सव नै आयोजना गरेर नाटक मञ्चन हुनु नेपाल र भारतका लागि गौरवको विषय भएको प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले बताइन् । नेपालमा प्रदर्शन हुने नेपाली नाटकहरू गच्छामी, कथा कस्तुरी र जुन परिकथा भारतमा पनि प्रदर्शन हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved