बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र छिटो सम्पन्न गर्न आग्रह

नेपालभ्युज

बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र छिटो सम्पन्न गर्न आग्रह

बुटवल। बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम सुस्त गतिमा भइरहेको भन्दै रुपन्देही उद्योग संघले चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न आग्रह गरेका थिए।

बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको उच्च प्रविधियुक्त ‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’ को संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले निमार्ण स्थल बुटवल मण्डपमा पुगेर कामको अवस्था र गतिविधिबारे जानकारी लिनुका साथै निमार्णको कामलाई तीव्र रुपमा बढाउन आग्रह गरेको थियो।

स्थलगत निरीक्षण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पौडेलले प्रदर्शनी केन्द्रमा उद्योगीहरूले आशा गरे जस्तो गरि काम नभएको र यो गतिमा काम भएमा समयमा नसकिने हो कि भन्ने चिन्ता लागेको बताए। अध्यक्ष पौडेलले यस क्षेत्रका उद्योगीहरूको पहल र सक्रियतामा बन्दै गरेको प्रदर्शनी स्थलको निमार्ण कार्य द्रतगतिमा गर्न आग्रह गर्दै निमार्ण सम्पन्न भएमा यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा निकै ठूलो परिर्वतन आउने आशा व्यक्त गरे।

संघका पूर्व अध्यक्ष तथा सल्लाहाकार समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीस्थलको अवलोकन गर्दा निराश बनाएको उल्लेख गर्दै तोकिएको समयमा काम सक्ने गरि सम्बबन्धित निकायले ध्यान दिनु पर्ने सुझाव दिए। संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले प्रदर्शनी केन्द्र यस क्षेत्रकै गहना भएको हुदा त्यसको रेखदेख र खबरदारी गर्ने जिम्मेवारी सबैको भएको हुदा कामको गति बढाउने गरि दवाव सिर्जना गर्न अनुरोध गरे।

एक अर्ब दुई करोड लागतमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले २३ जेठ २०७६ मा शिलान्यास गरेका थिए। २७ महीनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको केन्द्रको काम हाल ३७ प्रतिशत मात्र भएको जनाइएको छ।

नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभागअन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो।

बुटवल मण्डपमा १० विघामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र र ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाउने योजनाअनुसार काम भइरहेको छ। प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved