काठमाडौं । प्रहरीले पशु चौपायालाई निर्दयी व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ मानगण घर भएका ३८ वर्षीय हेम श्रेष्ठ, सोही स्थानका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कोशी गाउँपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही स्थानका २७ वर्षीय समिम आलम छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।
मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
२४ वटा गोरुलाई यातना हुने गरी पुच्छरसमेत छतमा बाँधेर, मुन्टो ठाडो पारेर डोरीले बाँधेर ओसारपसार गरेका थिए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment