काठमाडौं । न्यूरोडको सडकपेटी विस्तार विवाद समाधान भएको छ । सरोकारवाला पक्षबीच आज भएको सहमतिपछि विवाद सकिएको हो ।
काठमाडौं महानगरपालिकामा भएको छलफलमा ९ सदस्यीय कार्यदल बनाउने र त्यसले दिएको सुझाव अनुसार मात्रै काम अघि बढाउने सहमति भएको छ ।
सडक पेटी विस्तार गर्ने महानगर नेतृत्वको विरोधमा स्थानीय व्यापारी र वडाध्यक्ष संघर्षमा उत्रिएका थिए ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन), सरोकारवाला क्षेत्रका वडाध्यक्ष र स्थानीय अगुवाबीच भएको बैठकले अध्ययन टोली बनाउने र त्यसले मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।
विज्ञसहितको ९ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी काम अघि बढाउने भन्नेबारे तय हुने २२ नम्बरका वडाध्यक्ष चिनकाजी श्रेष्ठले जानकारी दिए ।
सहमति लगत्तै महानगरको २२ र २३ नम्बरका वडाध्यक्ष लगायतले न्यूरोड क्षेत्रमा कार्यक्रम गरेर विरोधका सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् ।
Facebook Comment
Comment