मधेस प्रदेशमा जसपा एक्लियो, जनमतको सरकार बन्ने बलियो सम्भावना

मधेस प्रदेशमा जसपा एक्लियो, जनमतको सरकार बन्ने बलियो सम्भावना
जनकपुरधाम ।  मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने कि जसपाको नेतृत्वले विश्वासको मत पाउने भन्ने कौतुहलताको समय टरेको छ ।
 मधेस प्रदेशमा जनमत पार्टीको  नेतृत्व  सरकार बन्ने लगभग निश्चित भएसँगै भावि सरकार बारेको नयाँ मार्गचित्र स्पष्ट बनेको हो ।  जनता समाजवादी पार्टी(जसपा)नेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले पनि साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।
सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले आज बुधवार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
सत्ता गठबन्धनबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको झण्डै २३ दिनपछि नेकपा एसले पनि समर्थन फिर्ता लिएको छ ।  मधेश प्रदेशमा लगातार साढे ६ वर्ष जसपा नेपाल नेतृत्वको सरकार रह्दै आएकोमा यसपटक नेतृत्व परिवर्तन हुने निश्चित भएको छ।
जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले ५ वर्षको पूर्ण कार्यकाल चलेको थियो । यद्यपि सत्ता साझेदार दलहरु फेरबदल भएका थिए । यादव नेतृत्वको सरकारले झण्डै १ वर्ष ६ महिना पूरा गरेको छ ।
डेढ वर्षको कार्यकालमा मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लागेको विश्वासको मतमा सफल हुने सम्भावना समाप्त भएको छ ।
एमाले, माओवादी र जनमत पार्टीले जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् । नेकपा एसले साथ छाडेपछि जसपा नेपाललाई बहुमत पुग्ने सम्भावना समाप्त भएको छ ।
तर पनि मुख्यमन्त्री यादवले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्ने बताइएको छ ।
प्रदेश सभामा १ सय ७ जना सांसद रहेका छन् । सरकार बनाउन कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।  एमालेको सभामुख बाहेक २४ जना सभासद, जनमत पार्टीको १३ जना सांसद, माओवादीको ९ जना सांसद रहेका छन् ।
एमाले, माओवादी, लोसपा र जनमत पार्टीले यस अघि नै आफ्नो पक्षमा ६३ सांसद रहेको दावी गरेका थिए । नागरिक उन्मुक्ति पार्टी( नाउपा)को १ जना  र नेपाल संघीय समाजवादी पार्टीको १ जनाले पनि सो गठबन्धनलाई समर्थन गर्ने छन् ।
सरकार गठनको सबै तयारी पूरा भइसकेको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले बताए ।
‘जसपा नेपालको सरकार अल्पमतमा परिसकेकाले सोझै राजीनामा दिनु उपयुक्त हुनेछ’ उनले भने, बहुमत सहित हामी सरकार गठन गर्ने तयारी अवस्थामा छौ । मुख्यमन्त्री यादवले सदनमा आफ्ना पक्ष राख्दै विश्वासको मत दिन  सांसदहरुलाई आग्रह गर्ने बताएका छन् । उनले भने, ‘सदनमा बहुमत नपुगे सरकारबाट राजीनामा दिनेछु ।’
मुख्यमन्त्री यादवले आफूलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले विश्वासको मत दिने बताएका छन् ।
कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय नै गरिसकेको छ । लोसपाले भने निर्णय सार्वजनिक गरेको छैन् ।
यदि लोसपाले विश्वासको मत दिए पनि सरकारको लागि चाहिने ५४ साँसद नपुग्ने अवस्था देखिएको छ। मुख्यमन्त्रीको पक्षमा कांग्रेसका २२, लोसपाका ८, जसपाका १९ गरी ४९ सभासद्को समर्थन हुनेछ। यस्तोमा  प्रदेश सरकारका लागि नेकपा एस निर्णायक रहेको छ। प्रदेश सभामा एसको ७ जना सांसद छन् ।
लोसपाका सभासद एवं मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनलले मधेश प्रदेश र केन्द्रमा कांग्रेसको साथ रहेको बताएका छन् । ‘हामी केन्द्र र प्रदेशमा कांग्रेसका साथ छौ’ उनले भने, हाम्रो गठबन्धनमा जसपा नेपाल आए स्वागत छ ।

तर उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने बारे केहि खुलाउन चाहेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved