देउवालाई पेलैरै बढ्ने रणनीतिमा कोइराला पक्ष

केन्द्रीय सदस्य मनोनयन र वरीयताको तुष

देउवालाई पेलैरै बढ्ने रणनीतिमा कोइराला पक्ष

काठमाडौं। कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाले बुधबार (२१ पुस) मा आफ्नो समूहको बैठक गरे।

देउवासँग पराजित भएपछि आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिँदै कोइरालाले आफूले पार्टीमा गुटको हिसाबले भागबण्डा नखोज्ने बताएका थिए।तर बुधबार कोइरालाले छुट्टै बैठक राखेपछि कांग्रेसवृत्तमा फेरि गुटगत राजनीति मौलाउने देखिएको छ।

देउवाले पनि १० पुसमा सभापतिको रूपमा पदभार ग्रहण गर्दै पार्टीभित्र साझा सभापति बनेर देखाउने बताएका थिए। तर उनको बोली व्यवहारमा परिणत नभएको कोइराला पक्षको दाबी छ।

पार्टीभित्र वरीयता र केन्द्रीय समितिमा गरिएको मनोनयनले कोइराला पक्ष असन्तुष्ट मात्र बनेन, पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्ने कोइराला पक्षले बतायो।

वरीयता विवाद र केन्द्रीय समिति मनोयनमा कोइराला पक्षले देखाएको असन्तुष्टिले नै सभापति देउवामाथि चुनौती थपिने देखिएको छ।

सभापतिमा जिताउन नेताहरू रामचन्द्र पौडेल र शशांक कोइरालाले समर्थन नगरेको गुनासो गरेका कोइरालाले बुधबार आफ्नो पक्षको बैठकपछि सभापति देउवाले आफूहरूलाई उपेक्षा गरेर अघि बढ्न चाहेको बताएका थिए।

महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाबाट बाहिर रहेका रामचन्द्र पौडेलदेखि नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरे पनि देउवाले कोइराला पक्षका एक जनालाई पनि मनोनित गरेनन्। यही कारण कोइराला पक्ष संस्थापन पक्षसँग रुष्ट छ।

देउवाद्वारा पौडेलसहित १० केन्द्रीय सदस्य मनोनित

त्यस्तै पार्टीको वरीयता तोक्दा पनि सभापति देउवाले आफूलाई उपेक्षा गरेका कोइरालाको ठहर छ। सभापतिमा निकटतम् रहेर पराजित हुनेलाई दोस्रो वरीयतामा राख्ने पार्टीको चलनमा देउवाले ब्रेक लगाए। कोइरालालाई पार्टीभित्र २० औं वरीयतामा खुम्च्याएपछि कोइराला समूह झनै असन्तुष्ट बन्यो। र बुधबारको बैठकमा सभापति पक्षले आफूहरूलाई पेलेर अघि बढेको भन्दै सभापतिको कार्यशैलीमाथि नै यो समूहले प्रश्न उठायो।

सभापतिले महाधिवेशनमा ४० प्रतिशतभन्दा बढी मत ल्याएकालाई पाखा लगाउँदा यसले पार्टीभित्र असहज स्थित ल्याउन सक्ने देख्छन् कोइराला पक्षका नेता गुरुराज घिमिरे। भन्छन्, “हामीले पार्टीको महाधिवेशन पो गरेका छौं, तीन तहको निर्वाचन अहिले बाँकी नै छ, यस्तोमा पार्टीभित्र बलियो एकता भएन भन्ने कसरी हुन्छ?”

घिमिरेले यसको असर आगामी तीनै तहको चुनावमा पार्टीलाई पर्न सक्नेतर्फ संकेत गरे।

देउवालाई कोइराला पक्षले दिन सक्ने दबाब के के हुन् ?

सभापति देउवामाथि दबाब बढाउने भने पनि यसको स्वरूप कस्तो हुने भन्ने कोइराला पक्षले स्पष्ट पारेको छैन। पार्टीभित्र पदाधिकारी र केन्द्रीय समितिमा सभापति देउवाको दुई तिहाई उपस्थिति छ। त्यसमाथि रामचन्द्र पौडेलदेखि शशांक कोइरालासम्मको साथ देउवालाई छ।

कोइराला पक्षका नेताहरूले मुख्यतः दुई ओटा रणनीति अख्तियार गर्न सक्छन्।

एउटा, पार्टीको केन्द्रीय समितिमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रयोग गर्ने।

अर्को, पार्टीको तल्लो तहसम्म यो समूहले आफ्नो प्रभुत्व कायम गर्ने।

जसका लागि आउँदो फागुनदेखि वडा तहसम्मै पुग्ने गरी यो पक्षले मेची-महाकाली अभियान निकाल्न लागेको नेता घिमिरेले जानकारी दिए।

सभापति देउवाले चाहेअनुसार सहजै निर्णय गराउने अवस्थामा पार्टी छ। त्यसैले कोइराला पक्षले महामन्त्री गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पार्टी बैठकमा प्रभावकारी रूपमा ‍उपस्थिति पनि गराउन सक्छ। कोइराला खेमाका एक शीर्ष नेता भन्छन्, “यस्तो अवस्थामा देउवालाई पार्टी केन्द्रीय समितिभित्रै पनि हामीले थ्रेट उत्पन्न गराउँछौं।”

महाधिवेशनपछि पनि देउवाले पार्टीभित्र एकलौटी गर्न खोज्दा आगामी निर्वाचनमा आफ्ना पक्षलाई टिकटमै भेदभाव हुने हो कि भन्ने शंकामा कोइराला पक्ष छ। त्यसैले पनि तल्लो तहसम्म आफ्नो पकड बनाएर देउवालाई प्रभाव पार्न सकिन्छ कि भन्नेमा पनि कोइराला पक्ष छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved