काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको डेल्टा भेरिएन्ट र ओमिक्रोन भेरिएन्टले जनजीवन प्रभावित छ। भाइरस नियन्त्रणका लागि भीडभाड हुने क्षेत्र बन्द गरिएको छ।
पश्चिम बंगालमा स्कुल, कलेज,पार्क, शैलुन र निजी संघ-संस्थाहरू ५० प्रतिशतले मात्र खोल्न पाउने नियम लागू भएको छ। दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। महाराष्ट्रमा बढ्दो संक्रमण न्यून गर्न लकडाउन गर्ने विषयमा सरकारले विचार गरिरहेको छ। यद्यपि, कुनै निर्णय लिइएको छैन।
भारतमा फैलिएको संक्रमणको लहर नेपालमा पनि आउनसक्ने त्रास यतिबेला छ। यसअघि पनि भारतमा अल्फा र डेल्टा भेरियन्ट फैलिएपछि नेपालमा त्यसको प्रभाव पर्ने आकलन गरिएको थियो। विज्ञहरूले समयमै सचेत गराउँदा पनि सरकारले नाकाहरूमा कडाइ गर्न सकेको छैन। नतिजा, समुदायस्तरमै कोभिड फैलियो र लामो समयसम्म लकडाउन गर्नुपर्ने अवस्था निम्तियो।
सरकारलाई पुरानै गल्ती नदोहोर्याउन अहिले विज्ञहरूले आग्रह गरिरहेका छन्। नेपालमा पहिलोपटक १९ मंसीरमा दुई व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो।
तर, उनीहरू चाँडै निको भए। त्यसको झन्डै दुई सातापछि अर्का एक व्यक्तिमा ओमिक्रोन देखियो र अहिले उनी पनि निको भइसकेका छन्। तर, आमिक्रोनको खतरा कायमै रहेको विज्ञहरू बताउँछन्।
“विश्वका धेरै देशसहित छिमेकी भारतमा तिव्रगतिमा फैलिरहेको ओमिक्रोनबाट जोगिन हामी सचेत हुनुपर्ने समय आइसकेको छ, तर नेपाल सरकारले अहिलेसम्म त्यस्तो कुनै तयारी गरेको देखिँदैन। जनताले पनि स्वास्थका मापदण्ड पालना गरेको देखिँदैन,’’ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने।
यस्तै अवस्था रहे जटिल परिस्थिति निर्माण हुनसक्ने उनले चेतावनी दिए। “आमनागरिकले स्वास्थ्यका मापदण्ड पालन नगर्दा पनि सम्बन्धित निकायले कुनै पनि अनुगमन र निगरानी गरेको देखिँदैन,” उनले भने, “भारतमा फैलिरहेको संक्रमण ढिलो-चाँडो नेपाल आउन सक्छ। त्यसका लागि सबैभन्दा पहिले सीमानाकामा कडाइ गर्न जरुरी छ। त्यहाँ डेल्थ डेस्कलाई सक्रिय बनाउने र चेकजाँचमा सक्दो कडाइ गर्नसके केही हदसम्म भए पनि जोखिमबाट बच्न सकिन्छ।”
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बारम्बार ओमिक्रोनविरुद्ध जुध्न नेपाल तयार रहेको बताइरहेका छन्। तर, सरकारी तयारी पर्याप्त नरहेको वन्तको भनाइ छ। “अहिले कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण भइरहेको छैन,” उनले भने, “परीक्षण गर्ने अधिकांश विदेश जाने र त्यहाँबाट आउनेहरू हुन्। परीक्षणदर निकै कम छ।’’ सरकारले अवस्थाको विश्लेषण गर्दै हवाईमार्गमा पनि कडाइ गर्नुपर्ने उनले बताए।
के छ सरकारको तयारी ?
भारतको परिस्थितिलाई ध्यानमा राखी नेपालमा द्रुत कार्ययोजना बनाउने काम चलिरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता कैशल मिश्रले बताइन्।
नाकाहरूमा कडाइ गर्ने तथा खोप अभियानलाई तीव्र रूपमा अघि बढाउने विषयलाई सरकारले ध्यानमा राखेको छ। “ओमिक्रोनभन्दा पनि कोभिडको तेस्रो लहर आउनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेका छौं। हवाइमार्गबाट आउने व्यक्तिहरूमा पनि एन्टिजेन परीक्षण गरिहेका छौं, खोप नलगाई आएकाहरूमा पनि एन्टिजेन परीक्षण गरिहेका छौं।”
कोरोनाबाट बच्न जनता आफैं सतर्क हुनुपर्ने मिश्रले बताइन्। “भीडभाड गर्दा मज्जाले गर्ने। तर, लास्टमा आएर स्वास्थ्य मन्त्रालयले केही पनि गरेन भन्न मिल्दैन,” उनले भनिन्।
स्थानीय तह र प्रदेश सरकारलाई सतर्कता अपनाउन निर्देशन
स्वास्थ्य सेवा विभागले ओमिक्रोन भेरियन्ट फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई थप सतर्कता अपनाउन निर्देशन दिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन अनुरोध गरेको महाशाखाका निर्देश डा.कृष्ण प्रसाद पौडेलले बताए।
कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमित संख्या थप बढ्न नदिन पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ।
जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।
संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेशन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको हो।
मानिसहरूको बढ्दो चहलपहल र लापरबाहीले गर्दा पनि जोखिम बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। “भारतकै तुलनामा नेपालमा ओमिक्रोन नफैलिएला भन्ने सकिने अवस्था छैन,” उनले भने, “संक्रमण फैलिनु अगावै नेपालमा जति सक्यो चाँडाे धेरैभन्दा धेरैमा कोभिडविरुद्ध खोप लगाउनुपर्छ। जसले संक्रमित भइहाले पनि अस्पताल भर्ना हुने संख्यामा कमी ल्याउँछ ।”
त्यस्तै डा. पुनले पनि सरकार र जनता यसबारे सचेत हुन निकै आवश्यक देखिएको बताए।
भारत दक्षिण अफ्रिका, ब्राजिल, भारत, बेलायत, अस्ट्रेलिया र जापानमा दैनिक थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढीमा ओमिक्रोन पुष्टि भएको वल्र्डोमिटरले देखाउँछ।
त्यस्तै, क्यानडा, रसिया, युरोप, अमेरिका, र दक्षिण पूर्वीएशियाका अन्य देशहरूमा पनि ओमिक्रोन तीव्र गतिमा बढिरहेको छ।
Facebook Comment
Comment