(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्व सामुन्ने उभिनेबित्तिकै त्यो थलोका सामाजिक र सांस्कृतिक विम्वहरू स्वतः प्रकट हुन पुग्छन् नै।
हाम्रा काव्य-सर्जकहरूले देशका विभिन्न शहर, बजार, ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वका स्थानमाथि कविता कोरेका छन्। यो स्तम्भको दोस्रो संस्करणमा हामीले यसपटक भूपि शेरचन, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठ र प्रभा बरालको पोखरामाथिको काव्य-हेराइलाई समेटेका छौं।)
पोखरा
-भूपी शेरचन
१. उपत्यका वरिपरिका डाँडा
म्युजिकल चेयरका खेलाडी
सङ्गीतमा बाँधिएका
हिँड्नलाई तयार
बाजा बज्ने प्रतीक्षामा उभिरहेका
२. कतै लुकेर
कतै फुकेर
एउटा गहिरो डहरबाट एक्कासि निस्केर
बगिरहेछ सेती खोला
टेप-रिकर्डको फित्ताझैं
एउटा मीठो धून सुसेलेर
३. माछापुच्छ्रे
एक बिहान हेर्छ अनुहार फेवामा
र मिलाउँछ शिरमा
सेतो-कालो टोपी सक्कले ढाकाको
४. हनिमून मनाउन आएको गोरासाहेब
एक बाजि हेर्छ काउँ डाँडालाई
र हेर्छ विस्फारित नयनले
मीमसाहेबका उन्नत वक्षस्थललाई
अनि हल्लिन्छ छाया लालपातीको
‘मीम सा’ब’ का मर्करी गालामा
५. हवाईजहाज आइरहेका छन्
हवाईजहाज गइरहेका छन्
हवाईजहाज आइरहेछन्
हनिमून मनाउने जोडाहरू बोकेर,
हवाईजहाज गइरहेछन्
‘ब्या’ को भोलिपल्टै
कच्छमा जान डाकिएका लाहुरेहरू बोकेर,
हवाईजहाज आइरहेछन्
माच्छापुच्छ्रे हेर्न आएका टुरिष्टहरू बोकेर,
हवाईजहाज गइरहेछन्
डोको, मदुस र हलो बोकेर,
चितौनमा जग्गा खोज्न जान लागेका
माच्छापुच्छ्रेका सन्तानहरू बोकेर
जहाज आइरहेछन्
जहाज गइरहेछन्
एअरपोर्टका चौतारोमाथि
एकनास
गाइरहेछ एउटा अन्धा
‘चरीको आउँदैन दूध
दुःखीको हुँदैन घरबार।’
हेलो पोखरा हाउ आर यू
-प्रकट पगेनी ‘शिव’
हेलो पोखरा हाउ आर यू
आई एम हेप्पी टु मिट विथ यू एफ्टर ए लङ पिरियड
बट, ह्वाइ आर यू सो सिरियस ? ह्वाट हेपेन टु यू।
खै, के भनुँ र जिन्जि दाइ
औपचारिकताबस तिमीले जे सोध्यौ, त्यसको जवाफ मसँग छैन
तिमी झुक्कियौ क्यारे जिन्जि दाइ
म मेरी आमा ‘पोखरा’ होइन, म उनकी छोरी पोखरा हुँ
म तिमीले चिनेकी पोखरा होइन,
तिमीले नदेखेकी पोखरा हुँ।
-आमा ?
हुनुहुन्न दाइ पोहोरै खस्नु भो
परान जाने बेला तपाईंलाई सोध्दै हुनुहुन्थ्यो
तपाईंले बिर्सनु भयो भनेर रुँदै हुनुहुन्थ्यो
ठुली आमालाई जस्तै आमालाई पनि रोग लाग्यो जिन्जि दाइ
अलिकति रोग फेवा घटेर लाग्यो
अलि धेरै रोग बस्ती बढेर लाग्यो
थलै गु/थलै मुत हुँदा पनि कसैले वास्ता गरेनन् दाइ
मैले धेरैको खुट्टा ढोगेँ/धेरैको पाउ मोलेँ
कसैसँग स्याहार मागेँ/कसैसँग गुहार मागेँ
तर रमितेहरू केवल रमिता हेर्दै गए
कौरवहरू मेरो अस्मिता लुट्दै गए
दुःशासनहरू मेरो वर्चस्व लुट्दै गए
दुर्योधनहरू मेरो सर्वस्व लुट्दै गए
र,
जालन्धरहरू मेरो सतित्व लुट्दै गए
मैले सबथोक लुटाएर पनि एक थोक जुटाउन सकिन जिन्जि दाइ
आमालाई ओखती जुटाउन सकिन
आमालाई रोगबाट छुटाउन सकिन
नजिक नआउ जिन्जि दाइ
अचेल मेरो सास पनि गन्हाउन थालेको छ
काखी पनि गन्हाउन थालेको छ
पायरिया लागेको पहेंला दाँत झन्झन् दुख्न थालेको छ
आमाको रोग मलाई पनि सरेको छ दाइ
नजिक नआउ तिमीलाई मेरो रोग सर्नु हुन्न
तिमी र तिम्रा सन्तानहरू मेरै कारणले मर्नु हुन्न
तिमी रमितेहरूलाई चिन्छौ दाइ ?
चिन्यौ र भेट्यौ भने
‘जुन दिन एउटी रोगी आमाकी विवश छोरीलाई बलात्कार गरेथ्यौ
ऊ अरू नभएर तिम्रै छोरी थिई भनिदिनु
र ती पापी बाउहरूलाई भेट्यौ भने
मुखैमुखमा थुकिदिनु
अर्को चोटि तिमी आउँदा म बाँच्छु कि बाँच्दिन कुन्नी दाइ ?
भेट्छु कि भेट्दिन कुन्नी दाइ ?
एकक्षण पर्ख, यसै पटक मलाई तिम्रो अनुहार धीत मरुन्जेल हेर्न मन लाग्यो
र, यसै पटक तिम्रो माया कलेजीको छेउमा राख्न मन लाग्यो।
(ठुलीआमा- काठमाडौं, रमिते-पोखराबासी)
पोखरा
-रमेश श्रेष्ठ
रातको सन्नाटामा
बगरभरि
पत्थरहरू रोइरहेका छन्
सेतीका अनगिन्ती सुकाइहरूमा
तर पनि
अस्तित्वबोध गाइरहेका छन्
पत्थरहरू
आफ्नो अनियमित आँसुका
छिपछिपे भुल्काहरूबाट सेतीलाई।
मन फाटेजस्तै
अनियन्त्रित फाटेका छन्
जमीनका रहरहरू
निरन्तर
आँसुका स्पर्शबाट
जब आकाशको सिउँदोभरि
उच्छृङ्खल बिजुलीहरू चम्कन्छन्
तब सडक जो बाँचिरहेका छन्
दूषित हत्केलाहरूमाझ
यात्रा हराएका काकाकुलहरू जस्तै
उदास स्वप्न बाँच्छन्
मैले रोई-रोई
सकी-नसकी बादल उघारें
एकचोटि उसले
ऐना हेर्यो फेवातालमा
ए डुब्न लागेको घाम झैं
साँघुरिदै, मैलिदै गयो
आफ्नै प्रतिविम्ब देखी
त्यो रात ऊ दुख्दै रोइरह्यो
भावनाभरि अक्षरहरू पोतेर
म आँसु पिइरहें
दाइ,
सपनीभरि मैले
माच्छापुच्छे्रभरि आफ्नो अनुहार देखें
आफ्नो अनुहारमा
उसलाई…।
पोखरा तिमी महान् छौ
-प्रभा बराल
अदृश्य मायाको जालमा आफ्नो
अस्तित्वलाई सजाउँदै हर व्यक्तिको
नयनहरू तानिरहेको छ मेरो पोखरा।
सीमित क्यानभासमा
तिम्रो चित्रण गर्न कहाँ सकिन्छ र ?
माछापुच्छ्रेको अनुपम मित्रता
सेती नदीको अविरल सुसाइ
महेन्द्र गुफाको नौलो प्रकृति
डेविडफल्सको बहाइमा अलौकिक सौन्दर्य
शान्त, सौम्य र सुन्दर छायामा
मुसुक्क हाँसिरहेको छ मेरो पोखरा।
हरियाली प्राकृतिक सौन्दर्यको
काखमा नाचिरहेको पवित्र ठाउँ तिमी पोखरा
चाँदी झैं चम्केको त्यो माछापुच्छ्रे
अनायास फेवाको आँगनमा
लुक्न आइपुग्दा आभास हुन्छ
स्वर्ग भनेको नै यही रहेछ।
तिम्रो कल्पनाको स्वच्छ नक्साभित्र
टेक्ने इच्छामा सदा लालायित छन् मान्छेहरू
शायद, प्रकृतिले पनि सम्पूर्ण आशिष यही
खनाइछिन् क्यारे,
अवर्णनीय तिम्रो असंख्य पानाहरूमा
म कसरी वर्णन गरुँ खै ?
तालबाराही, विन्ध्यवासिनी अनि भद्रकालीको
आलिङ्गनमा अंकित तिम्रो प्रतिविम्बलाई हेरेर
इष्र्यालु तलाउमा डुब्न खोजेका पनि कहाँ हैनन् र ?
तर तिम्रो सौन्दर्य मात्र पोखरामै सीमित छ
तिम्रा आस्थाका पर्खालहरू
यही निहीत बनेर रहेका छन्
चारैतिरको हरियाली छायाहरूमा
अन्नपूर्णा र धवलागिरिको चुचुरोमा
फेवाताल र माछापुच्छ्रेको अनौठो
सामिप्यसँगै हामी पोखराबासीहरू
अलौकिक शक्तिको आडमा
बाँचिरहेछौं एउटा छुट्टै
अस्तित्व बोकेर।
Facebook Comment
Comment