प्रचण्डसँग भलाकुसारी गरेका फर्किएका रामदेवले अरू शीर्ष नेतासँग समेत भेटघाट गरे। काठमाडौं आएलगत्तै दौडधूपमा व्यस्त रामदेवले शुक्रबार बिहानै आफ्नो पतञ्जलिको स्वामित्व रहने गरी नेपालमा दुई ओटा टेलिभिजनहरू प्रशारणमा ल्याए।
स्याङ्जामा शुरु हुन लागेको पतञ्जलिको जडीबुटी उद्योगको शनिबार दिउँसो उनी निरीक्षण गर्न जाँदै छन्। पतञ्जलिको जडीबुटी उद्योग, आस्था नेपाल र पतञ्जलि नेपाल टीभी गरी दुई ओटा टेलिभिजन नेपालमा लन्च गरेका यी भारतका प्रसिद्ध योग गुरुले नेपालमा लगानीमा हात हालेको पहिलो पटक भने होइन।
१० वर्षदेखि क्रियाशील छ नेपालमा पतञ्जलि
बाबा रामदेवको संस्था ‘पतञ्जलि’ नेपालमा सन् २०११ देखि आधिकारिक रूपमै दर्ता भएर काम गरिरहेको छ। २०७३ सालमा मंसीरमा बाराको प्रसौनीमा रामदेवले १ अर्ब भारतीय रुपैयाँ लगानीको पतञ्जलि उद्योग नै स्थापना गरे। जसको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। नेपालका धनाढ्य उद्योगपति उपेन्द्र महतोसँगको सहकार्यमा रामदेवले उक्त उद्योग खोलेका थिए।
यद्यपी सो उद्योग दुई वर्षमै बन्द भयो। पतञ्जलिले उक्त उद्योगबाट हात झिक्नुको कारण खुलाइएन। बाराको उद्योगबाट पनि हात झिके। अरू क्षेत्रमा भने उनको संस्थाको आबद्धता जारी नै थियो। नेपालमा पतञ्जलिले जडीबुटीबाट आयुर्वेद औषधीदेखि आयुर्वेद पढाइसम्ममा लगानी थालेको बताइन्छ। भारतको पतञ्जलिको उत्पादन हुने साम्रगीहरूको पनि नेपालमा राम्रै बजार व्यवस्थापन भइरहेको जानकारहरू बताउँछन्। नेपालमा वनजंगल पाइने जडीबुटी आयुर्वेद औषधिका लागि महत्त्वपूर्ण भएकाले उनको चासो यहाँ रहेको धेरैको अनुमान छ।
“रामदेव बाबा योग र आयुर्वेदका अगुवा मात्र होइनन्,” पत्रकार देशप्रकाश त्रिपाठी भन्छन्, “उहाँ पूर्वीय सभ्यताको एक जना नेतृत्वकर्ता पनि हुनुहुन्छ, त्यो हामी बिर्सनु हुँदैन।” त्रिपाठीले नेपालमा वनजंगल पाइने जडीबुटी आयुर्वेद औषधिका लागि महत्त्वपूर्ण भएकाले रामदेव नेपालप्रति चासो राखेको तर्क गर्छन्।
“उहाँले जे गरिराख्नु भएको छ, त्यसको उत्पादनका लागि नेपाल उपयुक्त, ठाउँ छ”, त्रिपाठी भन्छन्, “त्यही भएर विगतदेखि नै नेपाल छिर्ने विभिन्न बाटोहरू अपनाउन खोजेका देखिन्छन्।”
त्रिपाठीले बाबा रामदेवको नेपाल मोहमा कतै न कतै धार्मिक संस्कृति कुरा पनि लुकेको टिप्पणी गरे। भारतमा रामदेव अहिलेको सत्तारुढ दल भारतीय जनता पार्टी नेपालसँग नजिक मानिन्छन्। भारतमा भाजपा सत्तामा आएपछि रामदेव नेतृत्वको पतञ्जलिको उद्योग शिखरमा पुगेको छ। यो दाबी बेलाबखत भारतीय मिडियाहरूले गरिरहेका हुन्छन्। यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल प्रारम्भ भएयता रामदेवको प्रभाव भने भाजपामा लगातार घटिरहेको पनि भारतीय मिडियाको विश्लेषणको पनि छ।
भारतमा व्यापार स्थिर रहेपछि नेपालमा आँखा
भारतमा बाबा रामदेवको व्यापार असाध्यै चम्किरहँदा उनले लगानी बढाए। तर धेरै सफलता हात पारे पनि लक्ष्य भेट्न सकेनन्। पछिल्लो समय भारतमा पतञ्जलिको व्यापार स्थिर देखिएको बताइन्छ। ‘भारतमा व्यापार स्थिर रहेपछि रामदेव बाबा नेपालमा आफ्नो व्यापार विस्तार गर्न लागेका होइनन्’ भन्ने पनि आकलन एकाथरीको छ। भारतको नेपाल नीतिलाई नजिकबाट नियाल्ने दिल्लीमा रहेका विश्लेषक निहार नायक रामदेवको पछिल्लो नेपाल मिसन विशुद्ध व्यापारिक प्रयोजन रहेको दाबी गर्छन्। “यसमा भारत सरकार वा भारतको कुनै निकायको आधिकारिक रणनीति छ जस्तो मलाई लाग्दैन”, नायकले नेपालभ्यूजसँग भने।
यद्यपी योगगुरु भए पनि रामदेवको प्रभाव भारतजस्तै नेपालमा पनि राजनीतिक रूपमा राम्रो रहेको जानकारहरू बताउँछन्। “उहाँ आफैं एक सांस्कृतिक जागरणका अगुवा पनि हुनुहुन्छ”, पत्रकार त्रिपाठी भन्छन्,“उहाँको व्यापार प्रभाव बिस्तारले त्यसमानेमा पनि अर्थ राख्नु स्वभाविकै हो।”
धार्मिक रणनीतिमा रामदेव
दोस्रो जनआन्दोलनपश्चात् नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भयो। यो विषय भारतका प्राय सरोकारवालाहरू र भारतीय जनता पार्टीलाई मन नपरेको मानिन्छ। दोस्रो संविधानसभाबाट संविधान जारी गर्दा विविध विषयमा असन्तुष्टि जनाउँदै भारतले त्यसलाई स्वागत गरेन।असन्तुष्टि राखेको थियो। नेपाल कालागि भारतीय पूर्वराजदूत रान्जित रेले हालै नेपालभ्यूजलाई दिएको एउटा अन्तर्वार्तामा नेपालको संविधानलाई लिएर भारतको पोजिशनमा कुनै परिवर्तन नआएको जिकिर गरेका थिए।
हुन त नेपालमा पछिल्लो समयमा हिन्दू धर्मसम्बन्धी गतिविधि बाक्लिन थालेको छ। प्रमुख दलभित्रै पनि यो मुद्दा राजनीतिक रूपमा चर्चा चर्चाको विषय बन्दै आएको छ। यस्तो परिदृश्यमा एउटा खास धर्मको आडमा योग र आयुर्वेदको व्यापारिक गरिरहेको प्रभावशाली भारतीय बाबाको नेपाल आउनु आफैंमा महत्त्व राख्ने जानकारहरू बताउँछन्।
Facebook Comment
Comment