काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ थियो।
होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे।
मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए। उनले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको स्मरण गराए।
मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए। उनले भने, ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनुपर्यो। यसरी आमरूपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ। १२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन । १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन विदेश? पैसा छैन। बैंकलाई लगाइदिन्छ। पछि मिटरमा ब्याज लिन्छ। फेरी उसले पैसा फर्काएर लान्छ। नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर। महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर।’
उनले थपे, ‘पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक। अहिले त कम्प्युटर बोकेर पो आउँछ। गाउँ-गाउँ पुगेको छ वित्तीय संस्थाहरू। आमाहरूलाई राखेर ऋण दिन्छ। बिचरा आमालाई छोराछोरीहरूले मोबाइल माग्छ। अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ। अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन। अर्को महिनादेखि बाख्रा तानिन्छ। गाई तानिन्छ। थाल बटुको टिपिन्छ। आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ। यो कथा धेरै छ गाउँमा। सहरमा ब्याज छ। घटाउन सक्ने स्थिति पनि छैन।’
मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता पनि औंल्याए। उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासनसमेत दिए।
Facebook Comment
Comment