काठमाडौं। उमेर विवादका कारण सेवाबाट बर्खास्त गर्न लागेको सूचना पाएपछि नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिने मुड बनाएका छन्।
स्रोतका अनुसार डीआईजी सिंहले बुझाएको कागजातअनुसार फरक जन्म मिति भेटिएको भए पनि सिंहले जानी नजानी कीर्ते भने नगरेको भन्दै उनलाई राजीनामाको सहज उपाय कानुनविद्ले समेत सुझाएको बुझिन्छ ।
उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको देखिएको र नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएको लेखिएको छ । तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो। नागरिकता जारी गर्दा त्यस्तै लेखेर दिने गरेको अन्यको हकमा पनि भेटिने गरेको छ ।
कार्यालयको सिट रोलमा उनको जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ। २०५० मंसिरमा उनले प्रहरीमा आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेको देखिन्छ।
त्यसैले, कागजातका आधारमा बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिएर बस्ने तयारी सिंहले गरेका हुन् । सम्भवत: बुधबार उनको राजीनामा आउनसक्ने स्रोतको भनाइ छ ।
राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई समेत यस बारेमा जानकारी गराइसकेका छन्। उनले आफ्ना निकट कानुन व्यवसायीमार्फत कानुनी परामर्शसमेत लिएको बुझिएको छ । कानुनविद्कै सल्लाहमा राजीनामा दिँदा नै उचित हुने उनको बुझाइ छ । सिंहको जन्म मिति फरक-फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानामा सोधेको थियो। किताब खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर, ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्।
२०४२ मा लिएको नागरिकताअनुसार सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो।
सिंहको नागरिकताअनुसार उनी डीआईजी बढुवा नै नहुनुपर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए। नागरिकताअनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए।

Facebook Comment
Comment