काठमाडौं । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् ।
जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनिहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।
मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् ।
मिलापत्रमा भनिएको छ, ‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको…’ ।
आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुवातदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटक पटक अनशन बसेकि थिईन् ।
उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिए पछि गरिएको परिक्षणमा उनको छोराको डीएनए शिवराजसँग मिलेको थियो । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।
निहारिकाले २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।
Facebook Comment
Comment