काठमाडौं। विश्लेषक इन्द्र अधिकारीले एक ट्विटमा भनेका छिन्– ‘आजसम्म हाम्रो वैकल्पिक राजनीतिको नेतृत्वमा उदाएका मानिस संस्कार र चरित्रका हिसाबले पुरानामध्ये सडेगलेकै ‘मुलाका ड्याङ’ नै भेटिएका छन् तर, अस्तव्यस्त राजनीति र ढोगी नेतृत्व गणबाट आजित जनभावनासँग खेल्न एक हदसम्म सफल नै भन्न पर्यो । आकासमा चील देखाउँने, आगोमा तन्दुरी सेकाउने ।’
उनको ट्विट मुनि अर्का एक ट्विटर प्रयोगकर्ता प्रभासराजले टिप्पणी गरेका छन्–‘गफैले जिते वैकल्पिक भनाउँदाहरूले । मूलधारका नेता सुध्रिएको भए, जनता र आफूबीच राम्रो कनेक्सन बनाएको भए यिनले उदाउने चलखेल गर्ने स्पेस नै पाउँदैनथे ।’
लेखिका दुर्गा कार्कीले ‘नयाँ र वैकल्पिक’ भनिएको दल रास्वपाप्रति यसरी आक्रोश पोखेकी छन्–‘रास्वपा रविको शक्तिमोहको रचना हो । रविको प्रख्यातिबाट आ-आफ्नो राजनीतिक गच्छेअनुसार लाभ लिएका रास्वपा सासदलाई यतिखेर घन्टी निल्नु न ओकल्नु भएको छ। रास्वपाभित्र रविको पेट्रोनेज मूलधारे पार्टीभित्र ओली, देउवा वा प्रचण्डको भन्दा कम छैन। जुन कार्यकर्ताको मौनता र अतिप्रतिरक्षाबाट प्रष्ट हुन्छ ।’
यी अभिव्यक्तिबाट प्रष्ट हुन्छ कि, देशको आलोचनात्मक बौद्धिक वर्ग नयाँ र वैकल्पिक भनिएकाबाट सन्तुष्ट छैन । ‘वैकल्पिक राजनीति’ एक नयाँ वैचारिकी र राजनीतिक स्पेस बन्दै गएको भए पनि यसले आफ्नो बलियो, भरपर्दो र इमान्दार नेतृत्व नपाएको र एकपछि अर्को धोका भएको आक्रोश सर्वत्र सुनिन्छ।
के हो वैकल्पिक राजनीति ?
देशको करिब एक शताब्दि यताको राजनीतिमा मुख्य ३ विचार र राजनीतिक शक्ति प्रभावशाली रहे । ती थिए– राजावादी, कांग्रेस र कम्युनिस्ट। शाहवंशीय राजतन्त्र, राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाले निर्माण गरेको शक्ति सम्बन्ध र वैचारिकीमार्फत् सम्वर्द्धनवादी सोचले समाजको एक तप्कामा जरा गाड्यो ।
२००७ सालको क्रान्तिले राणा शासनको अन्त्य गर्यो । पहिलो जनान्दोलन २०४६ ले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्यो । दोस्रो जनान्दोलन २०६२-२०६३ ले राजतन्त्रको अन्त्य गर्यो । तथापि, यो सोच भने अन्त्य भएको छैन । राप्रपाका रूपमा सम्वर्द्धनवादी धारको निरन्तरता कायमै छ ।
कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भने पनि सामान्यतः उदार लोकतान्त्रिक राजनीति र नवउदारवादी अर्थनीतिलाई समात्यो । कम्युनिस्टहरू हिजो सर्वहारा राज्य र अधिनायकत्वको पक्षधर थिए । आज कांग्रेसजस्तै एक सामान्य संसदवादी शक्तिका रूपमा परिणत भए ।
सामान्यतः ‘वैकल्पिक राजनीति’ भन्नाले नेपालमा राजावादीहरूको सम्वर्द्धनवाद, कांग्रेसको उदारवाद र कम्युनिस्टहरूको संसदीय साम्यवादभन्दा फरक लोकतान्त्रिक– प्रगतिशील शक्तिको चाहनालाई बुझिन्छ ।
लामो समयदेखि ‘वैकल्पिक राजनीतिको पैरवी गर्दै आएका अर्का विश्लेषक तथा वैकल्पिक राजनीतिका अभियन्ता डम्बर खतिवडा भन्छन्–‘ वैकल्पिक राजनीति कुनै लहर वा लहड थिएन र हैन पनि । यसको वैचारिकी र व्यवहारको संगतिपूर्ण समग्रता थियो । दुर्भाग्यको कुरा कि यसको गम्भीरतालाई नबुझी लहडबाजीमा ‘वैकल्पिक राजनीति’ को दुरुपयोग भयो ।’ खतिवडाका विचारमा वैकल्पिक राजनीतिका मुख्य पाँच वटा आयाम हुन्छन् ।
१– प्रकृतिवादी मानवतावादी दर्शन, २– प्रत्यक्ष, समानुपातिक तथा सहभागितामूलक, समावेशी लोकतन्त्र ३– बहुसांस्कृतिकतावाद ४– सामाजिक बजारअर्थतन्त्र र समतामूलक समृद्धि र पाँच–सुशासन, सदाचार र पदसोपनाक्रमहीन समभावयुक्त राजनीतिक संस्कृति ।
यी कुरा बुझ्दै नबुझिकन हल्लामा ‘वैकल्पिक राजनीति’ भन्दै दौडिने लहर चल्यो । फलतः नेपालको ‘वैकल्पिक राजनीति’ ले अपेक्षित परिणाम नदिएको मात्रै हैन, यो आफैँमा बदनाम पनि हुँदै गइरहेको छ ।
कहाँबाट भयो सुरुवात ?
‘वैकल्पिक राजनीति’ को सुरुवात कुन विन्दूलाई मान्ने भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ । २०४६ पछि राजावादी, कांग्रेस र कम्युनिस्ट– तीनवटै पुराना विचार र पार्टीलाई अस्वीकार गर्दै डा. देवेन्द्रराज पाण्डेले लोक दल, गजेन्द्र नारायण सिंह नेपाल सद्भावना पार्टी र गोरेबहादुर खपाङीले राष्ट्रिय जनामुक्ति पार्टी बनाएका थिए । फरक राजनीतिक सोच र स्पेसको निर्माण यहीनेरबाट सुरुवात भएको थियो ।
यीमध्ये गजेन्द्र नारायण सिंह र गोरेबहादुर पखाङगीको प्रयत्न मधेस र जनजाति आन्दोनका रूपमा विकास भयो । यिनीहरूले बहुसांस्कृतिकतावादको पाटोलाई समाते पनि ‘वैकल्पिक राजनीति’ को समग्रतालाई भने आत्मसात गर्न सकेनन् ।
२०७० को दशकको प्रारम्भमा नै तीन वटा साना दल अस्तित्वमा आए–उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी । यी तीन वटै दलको छवि र जनआकर्षण प्रारम्भिक दिनमा निकै प्रभावकारी र उज्ज्वल देखिन्थ्यो । तर, प्रकारान्तले यिनीहरूभित्रको आन्तरिक समस्याले छवि धुमिल हुँदै गयो र असान्दर्भिक बन्न पुगे ।
बाबुराम भट्टराईको प्रयोग
बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा २०७३ जेष्ठ ३० गते नयाँ शक्ति पार्टी खोले । सायद उनी माओवादी पार्टीमा प्रचण्डबाट प्रताडित थिए । आफ्नै नेतृत्वमा केही नयाँ गरेर देखाउन चाहन्थे । अर्कोतिर भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको उदय भइरहेको थियो । त्यस अघिको दिल्ली भ्रमणमा जाँदा भट्टराईले केजरीवाललाई भेटेका पनि थिए ।
प्रारम्म्भमा नयाँ शक्ति पार्टीप्रतिको आकर्षण राम्रै थियो । पार्टी स्थापनाका लागि हजारौं मानिस रंगशालामा भेला भएका थिए । तर, भट्टाईले त्यसपछिका कदम भने मिलाउँन सकेनन् । जहाँ टेके त्यही चिप्लिँदै गए । अन्ततः उनी फोरमसँगको एकता, जसपा, नेसपा हुँदै कम्युनिस्ट आन्दोलन र माओवादीमै फर्किंदै छन् ।
भट्टराईले यसलाई एउटा नयाँ प्रयोग भन्ने गरेका छन् । उनले आफूलाई वैज्ञानिक र नयाँ शक्तिलाई प्रयोग भन्दै आफ्नो एउटा प्रयोग असफल भएको अर्थमा लिने गरेका छन् । तर, उनलाई नयाँ शक्ति पार्टी बनाउन साथ दिएका र उनको साथ छोडेका अधिकांश अभियन्ता डा. भट्टराईको तर्कसँग सहमत छैनन् । उनीहरू ‘वैकल्पिक राजनीति’ को व्यापक सम्भावना हुँदाहुँदै पनि सही रणनीति बनाउन र यथोचित कदम चल्न नसक्दा भट्टराईको प्रयोग असफल भएको ठान्दछन् ।
मिश्रको मनमा एउटा, मुखमा अर्कै कुरा
रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी, एकतापछिको विवेकशील साझा पार्टी पनि त्यस्तै दु:खान्तमा पुग्यो । यसो हुनुको मूल कारण पनि यसका मूल नेता रविन्द्र मिश्रको बेइमानी र अवसरवाद रहेको धेरैको ठम्याई छ । साझा पार्टी बनाउँदा योगदान गरेका ओमप्रकाश अर्याल, डा. सूर्यराज आचार्य र मुमाराम खनाललगायतको अनुभव पनि मिश्रसँग सुखद रहेन ।
मिश्रको मनमा उनको मनुज चौधरीकालीन विचार छँदै थियो । बाहिर भने उनले ‘वैकल्पिक राजनीति’ को बर्को ओडे । तर, त्यसमा टिक्न भने सकेनन् । अन्ततः उनी ‘विचारभन्दा माथि देश’ भन्दै राप्रपा प्रवेश गरे । साझाको कथा पनि त्यसै मलिन भएर गयो ।
उज्ज्वल थापा तुलनात्मकरूपमा इमान्दार
‘वैकल्पिक राजनीति’ मा सबैभन्दा इमान्दार भने उज्ज्वल थापा र उनले सुरूवात गरेको विवेकशील नेपाली समूह नै देखियो । तर, यो पनि साझा समूहको षडयन्त्रको शिकार भयो । उज्ज्वल स्वयं छोटो उमेरमै कोरोना कालमा बिते ।
उज्ज्वल थापाले उत्पादन गरेका सहकर्मी र अनुयायीहरू आज पनि उनलाई सम्मानका साथ सम्झिन्छन्। गोविन्द नारायण, मिलन पाण्डे, रञ्जु दर्शनाजस्ता दर्जनौं सहकर्मी उनले उत्पादन गरे, जसले रविन्द्र मिश्रको कार्यशैली र विचारप्रति असहमति जनाउँदै तीव्र संघर्ष गरे ।
वैकल्पिक राजनीतिमा यदाकदा एक काल्पनिक प्रश्न सोध्ने गरिन्छ। त्यो हो– साझा पार्टीसँग एकता नगरिकन विवेकशील नेपाली भिन्नै चलाएको भए कतै ‘वैकल्पिक राजनीति’ लाई त्यो समूहले पो न्याय गर्न सक्थ्यो कि ?
त्यसो त नयाँ शक्तिले फोरमसँग एकता नगरेको भए वा रविन्द्र मिश्रले ‘मार्ग परिवर्तन’ नगरेको भए कस्तो हुन्थ्यो होला भन्ने बितेको सम्भावनाबारे अझै झिनो छलफल चल्ने गर्दछ ।
रविको रास्वपा : भुमरी कि आँधी ?
भनिन्छ–तातो मौसममा जब कुनै स्पेसमा ग्याप उत्पन्न हुन्छ, त्यसलाई भर्न चारैतिरबाट चिसो हावा जोडले कुदेर आउँदा त्यहाँँ भुमरी पर्छ । भुमरी निकै ठूलो आँधीजस्तो हुन्छ तर त्यो आँधी हैन ।
देवेन्द्रराज पाण्डेदेखि उज्ज्वल थापा, डा. बाबुराम भट्टराई र रविन्द्र मिश्रसम्मले सिर्जना गरेको स्पेसमा यसपटक ग्याप थियो । त्यो ग्यापलाई पूरा गर्न रवि लामिछाने आए । तर, उनी ‘भुमरी हुन् कि आँधी’ भन्ने छँदै थियो ।
पछिल्ला घटनाक्रमपछि मान्छेलाई लाग्न थालेको छ–रास्वपा पनि भुमरी मात्रै हो, आँधी हैन, देशमा वास्तविक ‘वैकल्पिक राजनीति’ को उदय नै भइरहेको छैन । त्यसले अझै पनि उचित र इमान्दार नेतृत्व र नेतृत्वको समूह र सार्थक पहलकदमी पाइरहेको छैन ।
रवि लामिछानेमाथि केही व्यक्तिगत नैतिक तथा कानुनी प्रश्न मात्र उठेका छैनन्, पुरानै दलहरूसँग सत्ता सहकार्य गर्ने उनको निर्णयपछि उनलाई मत दिनेहरु पनि खासै उत्साहित देखिदैनन् । त्यसो त रास्वपाको विचार, सिद्धान्त र एजेन्डा के हो भन्ने विषयमा नै भारी भ्रम छ । यो ‘सेन्टर–टु–राइट’ कि प्रगतिशील– लोकतान्त्रिक शक्ति भन्नेमै अन्योल छ । रास्वपा कति दीगो हुन्छ वा हुँदैन भन्ने बारेमा कुनै प्रष्टता छैन ।
कतै यो– आउने चुनावसम्ममा विवेकशील साझा, नयाँ शक्तिकै नियतिको शिकार त हुने हैन भन्ने आशंका निकै बाक्लो छ । तर, एउटा यथार्थ के स्वीकार गर्नुपर्ने हुन्छ भने कसैले चाहेर नचाहेर वैकल्पिक राजनीतिका लागि देशमा एक फरक राजनीतिक स्पेस बनिसकेको छ । यो स्पेसले आफ्नो बास्तविक इमान्दार नेतृत्व र संस्था कहिले र कसरी पाउँछ त्यो भने अझै प्रतिक्षाकै विषय छ ।
Facebook Comment
Comment