काठमाडौं । पहाडी र अफ रोड भूभागहरूका लागि बनेको फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप नेपाल भित्रिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित टुनल्याण्ड जी सेभेन पिकअप सार्वजनिक गरेको हो ।
चिनिया कम्पनी फोटोनले उत्पादन गरेको मध्यमस्तरको डिजेलबाट चल्ने यो पिकअप भ्यान नेपाली भूगोलका लागि उत्कृष्ट पिकअप भएको आयातकर्ता कम्पनीले दाबी गरेको छ । यो पिकअप विशेष गरी हिमाली र अफ रोड ड्राइभका लागि डिजाइन भएको कम्पनीको दाबी छ ।
फोटोनको टुनल्याण्ड जी सेभेन पिकअपमा २.० लिटरको डिजेल इन्जिन प्रयोग गर्छ, जसले १६० हर्सपावर शक्ति र ३९० एनएम टर्क उत्पादन गर्दछ ।
फोटोनको टुनल्याण्ड जी सेभेन पिकअपमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, जसका कारण उच्च पहाडी, उबडखाबड र ढुङ्गाहरू भएको कच्ची सडकमा समेत सहजरुपमा यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसबाहेक यस पिकअपमा फोर ह्वील ड्राइभ, हिल होल्ड तथा हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा रहेका छन्, जसका कारण यस पिकअपले अफ रोड, हिलो र धुलो भएको सडकमा पनि सहजपुरमा यात्रा गर्न सक्नेछ ।
फोटोनको टुनल्याण्ड जी सेभेन पिकअपले २३ दिनमै विश्वका ८ वटा उच्च र कठोर अफ–रोड भूभाग पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचेको थियो । टुनल्याण्ड जी सेभेनले नेपाल, तिब्बत र भुटानका हिमाली क्षेत्र, चीनको गोबी डेजर्ट मरुभूमिको धूलो, दक्षिण–पूर्व एसियाका जङ्गली र उच्च भूभागहरू केवल २३ दिनमै पार गरेको थियो ।
यात्राका क्रममा टुनल्यान्ड जी सेभेनले कठिन मौसम, धुलो, पानी, हिउँ र उच्च उचाइमा पनि उत्कृष्ट प्रदर्शन गरेको कम्पनीको दाबी छ । टुनल्यान्ड जी सेभेनको टेस्ट ड्राइभका क्रममा केवल २३ दिनमै कठिन भूगोलमा १५ हजार किलोमिटर यात्रा पार गरेको थियो ।
फोटोन टुनल्याण्ड जी सेभेन पिकअपले अफ रोड र उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत उच्च माइलेज दिने कम्पनीले दाबी गरेको छ । टुनल्याण्ड जी सेभेनले हाइवेमा १४ किलोमिटर र अफ रोडमा १२ किलोमिटर प्रति लिटरका दरले माइलेज दिने कम्पनीले जनाएको छ । उक्त माइलेज नेपालमा एक करोडभन्दा बढी मूल्य पर्ने पिकअपले दिने माइलेज बराबर नै हो ।
कति मूल्य ?
फोटोन टुनल्याण्ड जी सेभेन पिकअप नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध रहेको छ । पहिलो एलिट पिकअप हो, जसको आधार मूल्य ५१ लाख ९९ हजार कायम गरिएको छ ।
त्यसैगरी दोस्रो भेरियन्टका रूपमा लक्जरी भेरियन्ट रहेको छ जसको आधार मूल्य ६५ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ । अर्को फ्ल्यागसिप पिकअपको आधार मूल्य भने ६९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
फोटोनले बिगत ५ वर्ष अगाडिबाट फोटोनगका सवारीसाधनहरु विक्री गर्दै आएको छ । आफूले विक्री गरेको सवारीसाधनमा कुनै समस्या आएमा तत्काल समाधान गर्ने गरेको र स्पेयर पार्टस् पनि सस्तो रहेको एमएडब्लु इन्टरप्राइजेजले दाबी गरेको छ ।
आइतबार टुनल्याण्ड जी सेभेन पिकअप सार्वजनिक गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्टर सेल्स सर्भिस र स्पेयर पार्टसमा आफूहरूले कुनै कसर बाँकी नराखेको दाबी गरे ।
सिकारियाले भने, ‘पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५ सय भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौँ, जसमा ५ सय भन्दा बढी पिकअपहरू पर्छन् । आफ्टर सेल्स सर्भिस र स्पेयर पाट्र्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौँ ।’
सिकारियाले जी सेभेनको बारेमा थप स्पष्ट पार्दै भने, ‘म के दाबी गर्दछु भने फोटोनको टुनल्याण्ड जी सेभनको हकमा समेत रोकथाम मेन्टिनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म बजारका अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम हुनेछ ।’
फोटोनको टुनल्याण्ड जी सेभेन पिकअप बलियो र उत्कृष्ट सेवा दिने मात्र नभई आरामदायीसमेत रहेको कम्पनीले दाबी गरेको छ । पिकअपको भित्री भागमा १२ दशमलव ३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्ने आयातकर्ताको दाबी छ ।
आवश्यकता अनुसार तातो वा चिसो बनाउन मिल्ने अटोमेटिक एसी, १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिटहरू रहेकाले चालक र यात्रुलाई मौसम अनुकूल आरामदायी अनुभव दिने दाबी गरिएको छ । पिकअपमा प्यानोरामिक सनरूफ रहेको छ जसले आकाशलाई नजिक ल्याउने भान हुने तथा गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउने दाबी गरिएको छ ।
फोटोनको टुनल्यान्ड जी सेभेनमा १० दशमलव २५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर–भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक लगायतका सुविधाहरू समेत छन् । टुनल्यान्ड जी सेभेनले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतीपूर्ण अफ–रोड र आरामदायी सहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिने दाबी गरिएको छ ।
आइतबार टुनल्याण्ड जी सेभेन पिकअपको सार्वजनिक लगत्तै उक्त पिकअप पहिले नै बुकिङ गरेका नेपाली ग्राहकलाई साँचो समेत हस्तान्तरण गरिएको थियो ।
Facebook Comment
Comment