काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा नेकपा एमालेका सूर्य थापाले नियमापत्ति जनाएका छन् ।
कुर्सी रोइरहेको भन्दै उनले कनियमापत्ति जनाएका हुन् ।
‘हामी सबै सदस्यले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबीचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहान्छु ’, थापाले भने, ‘हामी रत्नपार्कमा छौ कि शहिदगेटमा, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरूका कुर्सी रोइरहेका छन् ।’
थापाले यति भनेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै वक्ता बस्नेतलाई बोल्न क्रमलाई निरन्तरता दिने अनुमति दिए ।
प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका बीच चलिरहेको छ । प्रतिनिधिसभामा सोमबार आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल भइरहेको हो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका सांसदहरूले छलफलमा भाग लिएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने विरोध जनाएको छ । रास्वपा सांसदहरू नारावाजीपछि अहिले वेलमै बसेका छन् ।
यसरी रास्वपा सांसदहरू वेलमा बसेपछि एमाले सांसद सूर्य थापाले यसअघि नियामपत्ति जनाएका थिए । उनले बजेटजस्तो गम्भीर विषयमा छलफल चलिरहेका बेला रास्वपा सांसदहरू वेलमा बसेकाले उनीहरू बस्ने कुर्सी रोइरहेको टिप्पणी गरेका थिए ।
Facebook Comment
Comment