अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकार बिनु सुवेदीलाई

नेपालभ्युज

अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकार बिनु सुवेदीलाई

काठमाडौं ।  यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ ।

पत्रकारितामा  पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापनाको योगदानको कदरमा  पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानको तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’‘महिलाको विषय नमानिने, असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारितामा सुवेदीले पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो।’

यस्तै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार एकल महिलाको क्षेत्रमा ३० वर्षदेखि कार्यरत गैरसरकारी संस्था ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह’ लाई प्रदान गरिने भएको छ ।

हाल राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त रहेकी लिली थापा संस्थापक रहेको सो संस्थाले एकल महिलाको हक अधिकारमा विभिन्न काम गर्दै आएको छ । यो पुरस्कार राशि पनि १ लाख ११ हजार १११ रहेको छ ।

प्रतिष्ठानले हालसम्म स्व. श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शमशेर जबरा र डाक्टर सन्दुक रुइतसहित २ जना, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट  झापाको साना किसान कृषि सहकारीलगायत ११ जनालाई सम्मान गरिसकेको छ ।

यस्तै, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट श्री मानव सेवा आश्रम लगायत ९ जना, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट भैरव रिसाल सहित ९ जना तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सिविनसहित ९ को योगदानलाई कदर गरेको छ ।

प्रतिनिधिसभाका उप-सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनी मार्गमा २० वैशाख २०८२ मा एक समारोहका बीच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved