जनकपुरधाम । भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितका व्यक्तिलाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठाकुरसहित १७ जनाविरुद्ध सजाय माग दाबी गरिएको छ ।
ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता पनि छन् । भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
डीएन्डएन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका ठाकुरले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।
ठाकुरसहित औरहीका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा नम्बर १ का अध्यक्ष आशेश्वर यादव, वडा २ का अध्यक्ष अमितकुमार यादव, वडा ३ का अध्यक्ष गंगाप्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का परमेश्चरकुमार साह र वडा ६ का अध्यक्ष दिलीकुमार साहविरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तै पालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सबइन्जिनियर विनितकुमार साह, खरिदार मोहनकुमार मण्डल र मनोजकुमार यादव, लुम्बिनी/डीएन्डएन जेभीका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा दायर भएको हो ।
ठाकुरसहित १७ जनाविरुद्ध जनही ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ ।
Facebook Comment
Comment