ओलीको चाहनाविपरीत एमालेमा चुनाव

मंगलबार कीर्तिपुरस्थित त्रिवि हलमा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले सर्वसहमतिका लागि नाम अघि सारेका थिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल र दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे । यसपछि निर्वाचन कमिटी बुधबारका लागि मतदान मिति तय गर्न बाध्य भयो ।

ओलीको चाहनाविपरीत एमालेमा चुनाव

काठमाडौं । यो गत चैतमा विराटनगरमा देखिएको दृश्य हो– प्रेस चौतारी नेपालको दशौँ अधिवेशनको हलबाट नेकपा एमालेनिकट पत्रकारहरू रुँदै बाहिर निस्किए । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका नेताहरूले एकलौटी नेतृत्वको टिम घोषणा गर्न लागेपछि प्रतिनिधिहरू रुँदै हलबाट बाहिरिएका हुन् ।

यसअघि चौतारीमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूले निर्वाचनको माग गरेका थिए । तर उम्मेदवारी दर्ता गर्न संस्थापनइतर समूहलाई फारमसमेत दिइएन । अनि गणेश पाण्डेलाई नयाँ अध्यक्ष घोषणा गरियो । यसरी पत्रकारको संगठनमा टीका लगाएर सबै नेतृत्व चयन भयो ।

चौतारीको नयाँ नेतृत्व चयनको विषयलाई लिएर संगठनभित्रैबाट कतिपयले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत पोखेका थिए । अधिकांशले पार्टी नेतृत्वले लोकतान्त्रिक प्रणालीको खिल्ली उडाएको आरोप लगाएका थिए ।

विद्यार्थी संगठनमा पनि त्यही टीके प्रवृत्ति दोहोर्याउने ओलीको प्रयास यो पटक भने असफल भएको छ । अनेरास्ववियुको नयाँ नेतृत्व छान्ने प्रयास असफल हाे । मंगलबार कीर्तिपुरस्थित त्रिवि हलमा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले सर्वसहमतिका लागि अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षहरूमा प्रकाश पौडेल, अञ्जना सिवाकोटी र महासचिव दीपक धामीको नाम अघि सारेका थिए । तर, अध्यक्षका दाबेदार पौडेल, धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे । यसपछि निर्वाचन कमिटी बुधबारका लागि मतदान मिति तय गर्न बाध्य भयो ।

यसरी एमालेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको चाहनाविपरीत चुनाव हुने भएको छ । यसलाई लिएर कतिपयले पार्टीमा ओलीको शक्ति कमजोर हुँदै गएको हो कि भन्ने शंका गरेका छन् । यद्यपि यसबाट पार्टीमा ओलीको शक्ति कमजोर हुँदै गएको भनेर अहिले नै विश्लेषण गर्न हतारो नहुने राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् ।

विद्यार्थी राजनीतिकबीचको प्रतिपर्धा ओलीकै गुटबीच भएको उनको बुझाइ छ । ‘मूलतः विद्यार्थी संगठनबीचको प्रतिस्पर्धा ओलीकै गुटबीचको हो । विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसरको खोजी गरिरहेका हुन् । उनीहरू नेतृत्वमा गएर आफ्नो क्षमता परीक्षण गर्न चाहन्छन्,’ उनले भने, ‘यसैले यसैका आधारमा पार्टीमा ओलीको शक्ति घट्यो भनेर विश्लेषण गरिहाल्न मिल्दैन ।’

ओली नेतृत्वमा आएयता एमालेमा सकभर सर्वसम्मत नेतृत्व छान्ने अभ्यास हुँदै आएको र यो अभ्यास २०७८ देखि अलि बलियो हुँदै गएको सुवेदीको बुझाइ छ । हुन पनि सो वर्ष चितवनमा भएको पार्टीको महाधिवेशनमै यसको झलक देखिएको थियो । जहाँ ओलीले आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका थिए । यसका लागि उनले सबै पदाधिकारीको सूची मतदातालाई बाँडेका थिए । तर तत्कालीन उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली मतदानमा जान बाध्य भएका थिए ।

जनवर्गीय संगठनमा सर्वसम्मत नहुँदैमा पार्टी नेतृत्वमा अहिले नै ओलीलाई चुनौती दिने कोही आयो भनेर बुझ्न नहुने विश्लेषण सुवेदीको भनाइ छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिने सम्भावना छैन र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विद्या भण्डारी फ्याक्टर बलियो भइसकेको छैन ।’

अनेरास्ववियुको नेतृत्वमा जुटेन सहमति, बुधबार निर्वाचन हुँदै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved