काठमाडौं । युरोपमा पुनः युद्धको सम्भावनाबारे चिन्ता बढिरहेका बेला जर्मनीले आफ्नो पुरानो र जीर्ण बंकर प्रणालीलाई सुधार गर्न ठूला योजना अघि सारेको छ ।
रूसबाट सम्भावित आक्रमणको जोखिमलाई ध्यानमा राख्दै जर्मन संघीय नागरिक सुरक्षा तथा विपद् राहत एजेन्सी (BBK) का प्रमुख राल्फ टिस्लरले देशका बंकर, भूमिगत संरचना र चेतावनी प्रणालीमा आमूल सुधार गर्न लागिएको जानकारी दिए ।
जर्मन दैनिक सुडडोइच जाइटुंगसँगको अन्तर्वार्तामा टिस्लरले भने, “एक लामो समयसम्म हामीले युद्धको सम्भावना नसोची तयारी नै गरेनौं । अब परिस्थिति फेरिएको छ । रूसबाट युरोपमाथि ठूला स्तरको आक्रमणको सम्भावनालाई हामी गम्भीरतापूर्वक लिइरहेका छौं ।”
हाल जर्मनीमा केवल ५८० बंकर छन्, तीमध्ये धेरैजसो प्रयोगविहीन अवस्थामा छन् । यो संख्या शीतयुद्धकालीन २ हजारभन्दा बढी बंकरको तुलनामा निकै घटेको हो । जर्मनीको करिब ८३ मिलियन जनसंख्याको केवल ५ प्रतिशत मात्र अहिलेको अवस्थामा सुरक्षित आश्रयस्थलमा पुग्न सक्नेछन् ।
यसलाई सम्बोधन गर्न BBK ले टनल, मेट्रो स्टेशन, भूमिगत ग्यारेज, सार्वजनिक भवनका भुइँतलाहरूलाई प्रयोगमा ल्याएर १० लाख नयाँ आश्रय स्थान बनाउने योजना ल्याएको हो । यसका लागि ४० अर्ब युरोको लगानी आवश्यक रहेको बताइएको छ । भावी चान्सलर फ्रेडरिक मर्जले ५०० अर्ब युरोको रक्षा बजेट छुट्याएका छन्, त्यसमा BBK ले कति पाउने हो स्पष्ट छैन ।
देशको सैन्य क्षेत्र पनि कमजोर अवस्थामा छ । पार्लियामेन्टको एक रिपोर्टले देखाएको छ कि जर्मन सेना “सबै क्षेत्रमा अपुग” अवस्थामा छन् । हाल १ लाख ८१ हजार सैनिक मात्रै सक्रिय छन्, जबकि सरकारको लक्ष्य सन् २०३१ सम्म २ लाख ३ हजार पुर्याउने छ ।
BBK प्रमुख टिस्लरले अनिवार्य सैनिक सेवा वा वैकल्पिक नागरिक सेवा पुनः सुरु गर्नेबारे बहस सुरु गर्नुपर्ने बताए । “हामीसँग आपत्कालीन अवस्था सामना गर्न पर्याप्त जनशक्ति छैन,” उनले भने, “शायद देशका लागि सैनिक वा नागरिक सेवामध्ये रोज्न पाइने व्यवस्था आवश्यक छ ।”
Facebook Comment
Comment