काठमाडौं । विद्यालय व्यवस्थापन समितिले आफैँ निर्णय गरेर शिक्षकलाई स्थायी नियुक्ति दिएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।
चितवनको रत्ननगर नगरपालिका २ मा रहेको श्री नेपाल नमूना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले ७ जेठ २०७८ मा विया सुवेदीलाई स्थायी नियुक्ति गरेको थियो ।
विजया विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीकी श्रीमती हुन् । प्रधानाध्यापक सुवेदीले समितिलाई नभएको अधिकार प्रयोग गर्न लगाएर आफ्नी श्रीमतीलाई स्थायी नियुक्ति दिएको आरोप अख्तियारको छ ।
समितिले शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम बनाएर शिक्षक विजयालाई स्थायी नियुक्ति दिएको दाबी अख्तियारको छ ।
विजया सोही विद्यालयमा २०५५ सालमा करार कर्मचारीको रूपमा प्रवेश गरेकी थिइन् । २०६३ सालमा प्राथमिक विद्यालयको शिक्षकको जिम्मेवारीमा पुगेकी उनलाई २०७२ सालमा उच्च माध्यमिक विद्यालयमा करारमा नियुक्ति गरिएको थियो ।
तर, २०७८ सालमा समितिले उनलाई स्थायी गर्ने निर्णय गरेको थियो ।
अख्तियारले मुद्दामा समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दीपकचन्द्र शर्मा, सदस्य सचिव प्रधानाध्यापक बुद्धिराज सुवेदी र शिक्षक विजया सुवेदीलाई विपक्षी बनाएको छ ।
विजया व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पौडेलकी छोरी रहेको पाइएको छ ।
Facebook Comment
Comment