काठमाडौं । अमेरिकामा एकै परिवारमा चार नेपाली घरभित्रै मृत भेटिएका छन् । भर्जिनियामा बाबुआमा र उनीहरूका दुई सन्तान मृत भेटिएका हुन् ।
मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार ३६ वर्षकी अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् । बालबालिकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे लानाए लेनस्थित एक अपार्टमेन्टमा उनीहरूको शव भेटिएको हो । उनीहरू लगभग ६ महिना अगाडि मात्र उक्त अपार्टमेन्टमा सरेर आएको छिमेकीहरूले बताएका छन् ।
मृतक चारै जनालाई गोली लागेको पाइएको अमेरिकी सञ्चारमाध्यम एनबीसी वाशिङ्टन डटकममा समाचार छ । घटनास्थलबाट एक हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले संक्षिप्त विज्ञप्तिमा भनेको छ, ‘हालको प्रमाणका आधारमा यो घटना हत्या वा आत्महत्या हुन सक्ने देखिएको छ ।’ तर कसले गोली प्रहार गरेको भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट विवरण दिएको छैन ।
Facebook Comment
Comment