काठमाडौं । नक्साल स्थित बालमन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधवार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधवार दर्ता गराएको अभियोग पत्रमा विपक्षी रहेका १७ मध्ये तीनन जना भारतीय नागरिक रहेका छन्।
भारतीय नागरिकहरूको आधार कार्ड नम्बर र निर्वाचन आयोगको नामावली नम्बर सहित अभियोग पत्र दायर भएको छ। जसमा भारत दिल्ली घर भएका ४४ वर्षीय अभिनव सिंघानिया, भारतको राजस्थान घर भएका ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेय रहेका छन्।
अभियोग पत्रमा उल्लेख भएअनुसार विपक्षी बनाइएका तीनै जना बृहस्पति विद्या सदनका सञ्चालकहरू हुन् । यही विद्यालयलाई बाल सङ्गठनको जग्गा अत्यन्तै कम मूल्यमा लिजमा लिन चलखेल गरेको आरोप उनीहरूलाई लगाइएको छ ।
२०२१ सालमा राष्ट्रिय निर्देशन ऐनअनुसार ११९ रोपनी १२ आना ३ पैसा जग्गामा नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरिएको थियो। यो विशाल जग्गामध्ये २८ रोपनी ५ आना जग्गा २०५९ सालमा बृहस्पति विद्या सदनलाई भाडामा दिइएको थियो।
अभियोग पत्र अनुसार यो जग्गा २०८९ सालसम्म तीस वर्षका लागि भाडामा दिने सम्झौता गरिएको थियो । तर, सम्झौताको अवधि समाप्त हुनुभन्दा १७ वर्षअघि नै, अर्थात् २०७२ सालमा, थप ४३ वर्षका लागि सम्झौता विस्तार गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
विस्तार गरिएको सम्झौताअनुसार उक्त जग्गा विक्रम संवत् २१३१ सालसम्म बृहस्पति विद्या सदनलाई लिजमा दिइएको थियो ।
त्यस्तै, बाल मन्दिर प्रकरणमा २० जना विरुद्ध मुद्दा चल्ने यो प्रकरणमा १७ जनालाई मात्र विपक्षी बनाइएको छ। उक्त प्रकरणमा काँग्रेस नेता चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठ पनि मुछिएकोमा उनीहरूको निधन भएकाले विपक्षी बनाइएको छैन ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी समेत रहेकी रिता सिंह वैद्य नेपाल बाल सङ्गठनको अध्यक्ष भएको बेला बाल सङ्गठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।
बाल मन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
Facebook Comment
Comment