सुनसरीबाट ७ सय ८३ किलो गाँजासहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

सुनसरीबाट ७ सय ८३ किलो गाँजासहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीबाट ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेस धरानको संयुक्त टोलीले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

धरान उप– महानगरपालिका– १३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइबर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा गाँजा ल्याइएको थियो । सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षका आकाश राईलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन वेस धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved