काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटको सोतीमा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न २३ जना प्रतिवादीलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई सदर गरेको छ।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई सदर गरेको हो। यससँगै घटनाका मुख्य दोषीहरूले २५ वर्ष कारागारमा बिताउनुपर्ने भएको छ।
यद्यपि, उच्च अदालतले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भने बदर गरेको छ। उच्च सरकारी वकिल कार्यालयका उपर–न्यायधिवक्ता प्रेमप्रकाश थापाले पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र फरक आएको जानकारी दिए।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको थियो। दलित युवक नवराज विक आफ्नी प्रेमिकालाई भगाउन साथीहरूसहित सोती पुगेका बेला गाउँलेले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको थियो।
जिल्ला अदालतले यसअघि सोही गाउँका डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो। उच्च अदालतले पनि सोही फैसलालाई सदर गरेको हो।
Facebook Comment
Comment