जनकपुरधाम । सिरहाको नवराजपुरकी रिङ्कु सदाको सामूहिक बलात्कार तथा शङ्कास्पद मृत्यु प्रकरणमा पञ्चायती गर्ने वडासदस्य नथुनी साह पुर्पक्षको लागि जेल चलान भएका छन् ।
सिरहा जिल्ला अदालतको मङ्गलबारको आदेशअनुसार वडा सदस्य साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको सिरहा प्रहरीले जनाएको छ ।
अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई जेल पठाउने तथा पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए ।
श्रेस्तेदार पोखरेलका अनुसार स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको हो । अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ ।
यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दश जना अझै फरार छन् ।
उनीहरुका नाममा कानुनबमोजिम म्याद जारी हुने अदालतले जनाएको छ ।
रिङ्कु सदा माघ २७ गते साँझ शौच गर्न घरछेउको खेततिर जाँदा स्थानीय तीन जनाबाट बलात्कृत भएकी थिइन् । कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे मात्रै उनी घर आइपुगेकी थिइन् । उनलाई शौच गरिरहेका बेला अचानक आरोपितहरु आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा करेसाबारीमा लगी पालैपालो बलात्कार गरेको भनि रिङ्कुले आमाले बताएकी थिइन् ।
गाउँमा हल्ला भएपछि गाउँमै पञ्चायती गरेर मिलाउने प्रयास गरिएको थियो । गाउँका दुइ दर्जन बढी स्थानीयहरुको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरिएको थियो ।
तर, आरोपितले दिने रकम पनि पञ्चायतीका अगुवाले आपसमा बाँडचुँड गर्न खोजेका थिए भने पैसा तिर्न आरोपितबीच मै विवाद भएपछि घटना थप जटिल बन्न पुगेको र पीडक पक्षबाट छिटो मिल्न भनि पीडितलाई धम्की आइरहेको अवस्थामा माघ ३० गते साँझ आफ्नै घरमा रिङ्कु झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यस घटनामा इलाका प्रहरी कार्यालय, लहानले अपहरण तथा बलात्कारका मुख्य आरोपित एक जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लिएको थियो ।
घटनाबारे विभिन्न मिडियामा समाचार आएपछि बल्ल प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहन गरी चार कसुरमा पूरक जाहेरी लिएको थियो ।
Facebook Comment
Comment