डेढ वर्षअघि हराएका टेलिकमका हाकिम अझै भेटिएनन्

प्रहरीले लापरबाही गरेको परिवारको गुनासो

नेपालभ्युज

डेढ वर्षअघि हराएका टेलिकमका हाकिम अझै भेटिएनन्

काठमाडौं । ३० भदौ ०८० दिलिप सुवेदी बिहानै कार्यालय पुगेका थिए । झापा सुरुगांस्थित नेपाल टेलिकमको अफिसमा लेखा अधिकृत र निमित्त कार्यालय प्रमुख रहेका उनी बिहान ७ बजे नै कार्यालय पुगेका थिए ।

कार्यालय पुगेपछि उनी सुरक्षा गार्ड ओम प्रकाश खरेललाई लिएर चिया खान गए । करिब ५ सय मिटर परको चिया पसलबाट चिया खाएर सुवेदी कार्यालय छिरे ।

कार्यालय छिरेर उनले टेलिग्राममा श्रीमतीलाई फोन गरे । सुवेदीको परिवारकाअनुसार उनले करिब २२ मिनेट श्रीमतीसँग कुराकानी गरे । त्यसपछि उनले खाना खान जान्छु भनेर फोन राखे । श्रीमतीसँगको कुरकानी नै सुवेदीको अन्तिम कुराकानी भयो । त्यसयता उनी कहाँ छन् अत्तोपत्तो छैन ।

त्यसपछि उनको फोन स्विच अफ भयो । सुवेदीको फोन अफ भएपछि उनको परिवारले कार्यालयमा फोन गरेर सुवेदीका बारेमा सोधखोज गर्‍यो । तर, सुवेदीका सहकर्मीले उनी कार्यालयमा नभएको र उनलाई नदेखेको बताए ।

त्यसपछि अताल्लिएको परिवारले प्रहरीलाई खबर गर्‍यो । ३० भदौको साँझ नै परिवारले इलाका प्रहरी कार्यालय सुरुगांमा सुवेदी हराएको जानकारी गरायो । यति मात्र होइन, परिवारले सुवेदीको खोजी गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यालय झापा, प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत निवेदन दिए ।

तर, कतैबाट सुनुवाइ भएन । सुवेदीको परिवारले मानव अधिकार आयोग र गृहमन्त्रालयमा पनि निवेदन दिएका छन् । तर, कुनै पनि निकायले गम्भीरतापूर्वक खोजी नगरेको परिवारको गुनासो छ ।

सुवेदी बेपत्ता भए पनि उनले चलाउने स्कुटर र चाबी कार्यालयमै थियो । चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत सामग्री भने उनकै कोठाभित्रै थिए ।


स्थानीय प्रहरीले सुवेदीको खोजिमा गम्भीरता नदेखाएपछि परिवारले केन्द्रीय अनुसन्धान ब्यूरो गुहारेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी दुर्गा दाहालको नेतृत्वमा अनुसन्धान टोली झापा पुगेको थियो ।

तर, सीआईबी टोलीले पनि लापरबाही गरेको परिवारको गुनासो छ ।

‘सीआईबीको टोलीले पनि अफिस आसपासका घर, एटीएम र धान मिलका सीसीटीभीको फुटेज लिएन,’ विनोद भन्छन्, ‘दिलिपसँगै चिया खान गएको गार्डले दिलिप बाहिर निस्केको देखिनभन्दा सीआईबीले पनि पत्यायो ।’

यस बाहेक कार्यालयमा दुई जना सुरक्षा गार्डले पालै पालो सुरक्षा दिने भएपनि दिलिप हराएको दिन उनीसँगै चिया खान जाने सुरक्षा गार्ड ओम प्रकाश खरेलले अर्को सुरक्षा गार्डलाई जर्बजस्ती विदामा बस्न लगाएको परिवारको आरोप छ ।

‘चौबिसै घण्टा ड्युटी गर्ने दुई जना गार्ड थिए । तर, त्यो दिन ओम प्रकाश खरेलले अर्को सुरक्षा गार्डलाई जर्बजस्ती घर पठाएर आफैँ ड्युटी गर्छु भनेको थियो, यस्तोमा खरेलसँग सिआईबीले राम्रोसँग सोधपुछ नै गरेन,’ उनी गुनासो गर्छन् ।

प्रहरीले कार्यालयका कर्मचारी र सुरक्षा गार्डको बयान हुबहु भएको आरोप लगाएका छन् । ‘ती बयानमा नाम, जन्ममिति मात्र फरक छ, बाँकी सबै उस्तै हुबहु छ,’ सुवेदीका दाइ विनोद भन्छन् ।

सीआईबीको टोली अनुसन्धानका लागि सुरुगां पुग्दा तत्कालीन अनुसन्धान अधिकृत डीएसपी सुरज कार्की बिदामा बसेका थिए । सीआईबीको टोली काठमाडौं फर्किएपछि मात्र उनी कार्यालय फर्किएका थिए ।

प्रहरीले सुवेदको कार्यालयका पूर्व प्रमुखसँग सोधपुछ नगरेको, सुवेदीको कार्यालयका कर्मचारी र सुरक्षा गार्डले दुईवटा सिम बोक्ने भएपनि प्रहरीले नेपाल टेलिकमको सिमकार्डको मात्र कल डिटेल निकालेको परिवारको आरोप छ । यसबाहेक परिवारले पछि किटानी जाहेर दिन खोज्दा प्रहरीले जाहेरी नलिएको पनि आरोप छ ।

‘सँगै चिया खाएर अफिस फर्केको सुरक्षा गार्डले दिलिप निस्केको देखिन भन्नु नै अचम्म हो,’ विनोद भन्छन्, ‘अफिसमा भित्रबाहिर गर्ने एउटै ढोका छ । अनि पुलिसले वरिपरीका सीसीटीभी फुटेज पनि नहेर्नु त लापरबाही हो ।’

सुरुगांस्थित इलाका प्रहरी कार्यालयले भने दिलिप सुवेदीको हुलिया देशभरका प्रहरी कार्यालयमा पठाइएको बताउँछ । ‘दिलिप सुवेदीको हुलिया देशभर परित्र भएको छ,’ प्रहरी कार्यालय भन्छ, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved