यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार

यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार

काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका एक पास्टर नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् ।

बजिन्दर सिंह नामका ४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक सभाको नेतृत्व गरिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अुनसार प्रहरी अनुसन्धान छल्दै उनी भारतबाट नेपाल आइपुगेका हुन् । भारतको पञ्जाब राज्यकी एक महिलाले उनीमाथि यौन दुर्व्यहारको आरोपमा उजुरी दिएकी छन् । महिलाले २८ फेब्रुअरीमा प्रहरीमा उजुरी दिएकी थिइन् । यस विषयलाई भारतको महिला आयोगले पनि गम्भीरतापूर्वक लिएको बताएको छ ।

बजिन्दरमाथि अनुसन्धान गर्न भनेर पञ्जाब प्रहरीले तीन सदस्यीय विशेष टोली पनि बनाएको छ । तर, विशेष टोलीसमक्ष उपस्थित हुने दिन उनी भारतबाट भागेर नेपाल आइपुगेका हुन् ।

प्रहरी अनुसन्धान छलेर नेपाल आएपछि पञ्जाबको मोहली जिल्ला अदालतले उनीमाथि ‘गैर जमानती’ पक्राउ पुर्जी जारी गरेको छ ।

बिजेन्दर जालन्धरको ताजपुर गाउँमा रहेको ‘द चर्च अफ ग्लोरी एण्ड विस्डम’का पादरी हुन् । उनले सन् २०१७ देखि नै ती महिलामाथि यौन दुर्व्यहार गर्ने गरेको आरोप छ ।

हरियाणा राज्यका बजिन्दरको भारतभर २०६० वटा चर्च छ । उनीमाथि यसअगाडि पनि यौन दुर्व्यहारको आरोप लागिसकेको छ । सन् २०१८ मा यस्तै आरोपमा उनी पक्राउ परेका थिए । गैरकानूनी सम्पत्ति थुपारेको भन्दै सन् २०२३ मा भारतको आयकर विभागले उनका चर्चहरुमा छापा मारेको थियो ।

बीबीसी हिन्दीकाअनुसार उनी १५ वर्ष अगाडि हत्या अभियोगमा जेल परेका थिए । जेलमा रहँदा नै उनी इसाई धर्मालम्बी भएका थिए ।

बजिन्दर यस अगाडि पनि नेपाल आइसकेका छन् । २०८० को मङ्सिर ५ र ६ मा उनको एउटा कार्यक्रम चितवनको रत्ननगरमा भएको थियो । उक्त कार्यक्रममा उनले नेपालमा ‘ठूलो भूकम्प जाने’ हल्ला फैलाएका थिए । उनले त्यतिखेर भनेका थिए, “मैले भनेको कुरा लेखेर राख्नुहोस्, नेपालमा निकै ठूलो भूकम्प आउनेवाला छ । नेपालका सीएम, प्रधानमन्त्री, प्रशासनलाई परमेश्वरले सुरक्षा देओस्, मेरो कुरालाई सामान्य रुपमा नलिनुहोस्, त्यो भूकम्प जाँदा म हेलिकोप्टरमा बसेको हुनेछु ।”

उनी आफूलाई चमत्कारी पादरीका रुपमा चिनाउँछन् । क्यान्सर, पक्षघातजस्ता रोग निको पार्ने शक्ति आफूमा रहेको दाबी गर्छन् ।

इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार २० र २१ फागुनमा बजिन्दरले टिकापुरमा धार्मिक कार्यक्रम गरेका थिए । नेपालभ्युजसँग उनले भने, “२०, २१ गते यहाँ(टिकापुर)मा कार्यक्रम भएको थियो । २२ गते उनी गौरीफन्टा नाका हुँदै भारत नै गइसकेका छन् । भारतमा उनीमाथि चलिरहेको अनुसन्धान र पक्राउ पुर्जीका बारेमा हामीलाई जानकारी छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved