गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बूको मृत्यु भएको हो । प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनालगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।
बिहीबार साँझ मात्रै गाईघाटमा एक गाडीको ठक्करले एकै घरका दिदीबहिनीको मृत्यु भएको थियो । –रासस
Facebook Comment
Comment