काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले गरेको बाल श्रम शोषणको प्रतिवेदन काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाएको छ ।
नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सांसद निर्वाचित शर्माले बाल श्रम शोषण गरेको र बालिकालाई दास बनाएको भन्दै महानगरले प्रहरीमा उजुरी दिएको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयमाथि स्व–विवेकिय अधिकार प्रयोग गर्दै आयोगले ३० माघमा सरकारी वकिल कार्यालय र प्रहरीलाई साता दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।
दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् ।
बालिकालाई पढाइदिने भन्दै काठमाडौं ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, कुटपिट गर्ने र मानसिक यातना दिने गरेको भन्दै बालिकाले नै महानगरको टोलीसँग गुनासो गरेकी थिइन् । यसपछि महानगरले १४ जेठमा बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि महानगरले बालिकालाई दिएको मनोपरामर्श, महानगरले गरेको अनुसन्धानको विवरण र बालिकाले सुनाएको आफूमाथि भएको यातनाको विवरण समेटेर महागनरले आइतबार आयोगका सचिव मुरारिप्रसाद खरेललाई प्रतिवेदन बुझाएको हो ।
Facebook Comment
Comment