काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधीन केबलकारको समर्थनमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा विशाल जनप्रदर्शन गरिएको छ ।
स्थानीयवासीहरुले केबलकार निर्माणमा भइरहेको अवरोधको विरोध गर्दै जिल्लाको विकास रोक्न खोज्नेहरुको विरुद्धमा मङ्गलबार नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले ‘केबलकार हाम्रो माग हो’, ‘विकास विरोधीहरु मुर्दाबाद’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी स्थानीयवासीहरुले पाथीभरा केबलकार निर्माणलाई तीव्रता दिन र लगानीमैत्री वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले जिल्ला बाहिरका केही व्यक्तिहरुले केबलकार निर्माणमा अवरोध गर्न खोजेको आरोपसमेत लगाएका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पाथीभरामा केबलकार निर्माणको विषयमा केही व्यक्तिहरुले विरोध जनाएका छन् । उनीहरुले केबलकार निर्माणले मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने तर्क गरेका छन् । तर, स्थानीयवासीहरुको ठूलो समूह केबलकार निर्माणको पक्षमा रहेको बताइएको छ ।
पाथीभरा देवी दर्शन केवलकार प्रालिले २०७५ सालमा सरकारबाट केबलकार निर्माणको अनुमति पाएको थियो । हाल आइएमई समूहको लगानीमा केबलकार निर्माणको काम भइरहेको छ ।
Facebook Comment
Comment