मधेसमा सरकारी कामकाजको भाषामा थारू र मगही पनि समेट्ने तयारी

मधेसमा सरकारी कामकाजको भाषामा थारू र मगही पनि समेट्ने तयारी

जनकपुरधाम । मधेस प्रदेशले सरकारी कामकाजमा प्रदेशमा बोलीचालीमा रहेका सबै भाषालाई समेट्ने भएको छ ।

सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विगतमा छुटेका भाषालाई सरकारले समेट्न लागेको मुख्यमन्त्री सतिश कुमार सिंहले बताए । माघ ९ मा सरकारले प्रदेश सभामा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको थियो ।

शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्माले पेश गरेको विधेयकमा नेपाली भाषाका अतिरिक्त मैथली, भोजपुरी, हिन्दी, बज्जिका र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाइने उल्लेख थियो । उक्त विधेयकमा थारू र मगही भाषा छुटेपछि सरकारी प्रस्तावको चर्को विरोध भएको थियो ।

थारू भाषा समावेश नभएको भन्दै मधेस प्रदेश सरकारका कानुन गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले विधेयकको विरोध गरेका थिए ।

अहिले विगतमा समावेश गर्न छुटेका स्थानीय बोलीचालीका भाषालाई समेट्दै कानुन बनाउन लागिएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

जनकपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘स्थानीयस्तरमा बोलीचाली र प्रचलनका रहेका भाषालाई समेट्दै सरकारले विधेयक अघि बढाउँछ । प्रदेशभित्र बोलीचालीमा रहेका सबैभाषाको सरकारले सम्मान गर्छ ।’

आदिवासी जनतजाती उत्थान राष्ट्रिय प्रतिष्टान तथा नेपाल आदिवासी जनजाती महासंघ र थारू कल्याणकारी सभाले संयुक्त रूपमा गोष्ठी गर्दै कामकाजी प्रचलनमा आएका भाषा नछुटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा मन्त्री लेखीले विधेयकमा थारू भाषालाई उपेक्षा गरिएपछि आफू सरकारमा रहेपनि विधेयकको विरोध गरेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सङ्घीयतालाई सबल र बलियो बनाउन सबै संस्कृति र भाषाको समान सम्मान आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved