काठमाडौं । माघ २ गतेको साँझ, करिब ७ः३० बजेको समय । चितवनबाट १२ वर्षीया बहिनीसँग काठमाडौं फर्किंदै गरेकी एन्जीला खनालले इन्ड्राइभ एपमार्फत सवारी सेवा लिनुपर्यो । उनीहरू सवार बस मुग्लिन बजारमा बिग्रियो र ग्यारेजमा मर्मत गर्न केही समय लाग्ने कुरा ड्राइभरले बताए । मुग्लिन बजार काठमाडौंबाट करिब ११० किलोमिटर टाढा पर्दछ ।
चाँडै काठमाडौं पुग्ने चाहनाले एन्जीलाले इन्ड्राइभको ‘सिटी टू सिटी’ सेवा प्रयोग गरिन् । एक ड्राइभरले उनको अनुरोध स्वीकार गरे । सुरुमा इन्ड्राइभ राइडरले भाडा बढाउन आग्रह गरे, तर एन्जीलाले अस्वीकार गरिन् । अन्ततः सहमत भई ड्राइभरले नारायणघाटबाट एक घण्टा वा ४५ मिनेटमा आइपुग्ने बताए ।
अचानक ‘अनौठो’ प्रस्ताव
सबै कुरा सामान्यजस्तै लाग्दै थियो, तर केही समयपछि ती इन्ड्राइभ राइडरले एन्जीलालाई व्हाट्स एपमा म्यासेज गरे । ती पुरुषले ‘एउटा कुरा भन्छु नरिसाउनु है’ भनेर लेखेका रहेछन् । एन्जीलाले पनि हुन्छ भन्नुस् न भन्ने रिप्लाई गरिन् । यो बेलासम्म पनि वातावरण सामान्य नै थियो । जब ती पुरुषको रिप्लाई आयो, त्यसपछि भने घटनाले अर्कै मोड लियो । ती इन्ड्राइभ राइडरले लेखे, ‘हामी बाटोमा कतै एक घण्टा बसौँ न ! बरु म पैसा लिँदिन ।’
एन्जीला एकैछिन झसङ्ग भइन् र सोचिन् – कसरी एउटा इन्ड्राइभ राइडरले यस्तो भन्ने हिम्मत गर्छ ! जबकि उनीसँग उसको नम्बर छ ।
एन्जीलाले तुरुन्तै प्रतिक्रिया दिँदै भनिन्, ‘लाज लाग्दैन दाइ तपाईंले कस्तो कुरा गरेको यस्तो ? म तपाईंको कम्प्लेन गर्दिऊँ ?’ तर, राइडरले फेरि जवाफ दिए, ‘किन ? यदि हाम्रो मन मिल्यो भने बस्न के भो त ? यसपछि एन्जीलाले उजुरी गर्ने चेतावनी दिइन् । उजुरी गर्छुभन्दा पनि ती राइडर हच्किएनन् ।
इन्ड्राइभमा उजुरी गर्न समस्या
इन्ड्राइभ राइडर टसमस नभएपछि एन्जीलाले तुरुन्तै उक्त नम्बर तुरुन्तै ब्लक गरिन् र इन्ड्राइभमा सम्पर्क गर्न खोजिन् । तर, त्यति बेला उनले थाहा पाइन् इन्ड्राइभको कुनै आधिकारिक फोन नम्बर रहेनछ । यसपछि उनी स्तब्ध भइन् ।
उनले इन्ड्राइभलाई म्यासेजमार्फत सम्पर्क गर्दा उनीहरूबाट ‘हामी कुनै पनि व्यक्तिको निजी जानकारी खुलाउन सक्दैनौँ । तपाईंसँग ती व्यक्तिको नम्बर छ, प्रहरीमा गएर उजुरी गर्नुहोस्’ भनेर रिप्लाई आयो । तर, उनले हिम्मत हारिनन्, उनले जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा उजुरी दिइन् ।
परिसरका प्रवक्ता नवराज अधिकारीले घटनाका आरोपी पक्राउ परेको जानकारी आएको बताए । यसैबीच इन्ड्राइभले ती राइडरलाई आबद्धता रद्द गरेको छ ।
एन्जीलाकाअनुसार घटनाको भिडिओ सोसल मिडियामा भाइरल भएपछि इन्ड्राइभ कम्पनीले उनलाई नेपाली नम्बरबाट नभई अन्य अन्तर्राष्ट्रिय नम्बरबाट सम्पर्क गरेको थियो ।
फोनमा कम्पनीका प्रतिनिधिले “त्यो दिन के भएको थियो ?” भनेर सोधपुछ गरेका थिए । त्यसपछि समस्या समाधान गर्ने आश्वासन दिए पनि पुनः सम्पर्क नगरेको एन्जीलाले बताइन् । उनी ती राइडरलाई कानूनबमोजिम कारबाही होस् भन्ने चाहन्छिन् । साथै, यस्तो घटना फेरि कसैको जीवनमा नदोहोरियोस् भन्ने हेतुले उनले सबैलाई सचेत रहन आग्रह गरेकी छिन् ।
यस्तो घटना धेरै हुने गरेको तर, कसैले पनि यसको विरुद्धमा नबोलेकोले सबैलाई सचेत गराउनका लागि यो विषय सार्वजनिक गरेको र कानूनी प्रक्रिया अघि बढाउन आफूले कदम चालेको उनले बताइन् ।
इन्ड्राइभको सुरक्षाप्रति गम्भीर प्रश्न खडा
एन्जीलामाथि घटेको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकटकमार्फत उनले त्यो दिनको घटना बताएकी छिन् । उनले साझा गरेको यो अनुभवले इन्ड्राइभजस्तो सेवा राति महिलाका लागि कति असुरक्षित छ भन्ने बहस जन्मिएको छ ।
सवारी चालकबाट आएको यस्तो व्यवहारले इन्ड्राइभको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ ।
(नोट : यस विषयमा बुझ्न नेपालभ्युजले इन्ड्राइभको आधिकारिक फेसबुक पेज र निर्देशकलाई सम्पर्क गर्ने प्रयास गरेको थियो, तर सम्भव भएन। )
Facebook Comment
Comment