काठमाडौं । जसपा नेपालकी नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको छ । साथै, उनले प्रयोग गरेको उक्त पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी दीपेन्द्रकुमार बस्नेतका अनुसार, जसपा नेतृ यादव वैशाख १२ गते तय मामाकी छोरीको विवाह समारोहका लागि एक दिनअघि सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ पुगेकी थिइन् । यो घटना वैशाख ११ गतेको हो । वैशाख ११ गतेको हल्दी–मेहन्दी समारोहमा रमाइलो गर्ने क्रममा पेस्तोल पड्काएको उनले प्रहरीसामु बयान दिएको डीएसपी बस्नेतले जानकारी दिए ।
‘सर्लाही प्रहरीसँगको समन्वयमा सो पेस्तोल बरामद गरिएको छ । प्रारम्भिक रूपमा हेर्दा खेलौना पेस्तोल भन्ने बुझिएको छ । प्रयोगशालामा परीक्षणको लागि पठाउँछौँ । त्यसको रिपोर्ट आएपछि मात्र थप अनुसन्धान गर्नेछौँ,’ डीएसपी बस्नेतले नेपालभ्युजसँग भने । जसपा नेतृ यादवलाई भने प्रारम्भिक सोधपुछपछि कागज गराएर छाडिएको उनले बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा ६–७ जना व्यक्तिको समूह गीतमा नाचगान गरिरहेको देखिन्छ । यादवले हातमा पेस्तोल नचाउँदै गीतमा रमाइरहेकी छन् । केही समयपछि उनले पेस्तोल आकाशतिर फर्काएर फायर गरेको देखिन्छ । त्यसपछि अर्का एक पुरुषले सो पेस्तोल लिएर फिल्मी शैलीमा फुकेको दृश्य पनि भिडियोमा कैद छ ।
सर्लाहीका डीएसपी सरोज राईका अनुसार, सो पेस्तोल बरामद गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाइएको छ । ‘हामीले खानतलासी गरेर उक्त पेस्तोल बरामद गरेका छौँ । हेर्दा खेरी हतियार नक्कली नै हो । बारुद पड्किने हतियार हो, तर गोली पड्किने हतियार होइन । तैपनि यो विधि विज्ञान प्रयोगशालाको रिपोर्टले नै पुष्टि गर्नेछ,’ उनले भने ।
प्रयोगशालाको रिपोर्ट प्राप्त भएपछि मात्र थप अनुसन्धान अगाडि बढ्ने डीएसपी राईको भनाइ छ । यादवले पड्काएको हतियार सक्कली भएमा उनलाई नेपालको हातहतियार तथा खरखजानासम्बन्धी ऐन आकर्षित हुनेछ ।
नेपालको हातहतियार तथा खरखजानासम्बन्धी ऐन २०१९ (संशोधित २०६४) को धारा २ अनुसार, हातहतियार भन्नाले तोप, मेसिनगन, राइफल, बन्दुक, पेस्तोल, रिभल्भर लगायत बारुद वा विस्फोटक पदार्थ प्रयोग गरेर चलाइने यन्त्रहरूलाई जनाइन्छ ।
धारा ३ अनुसार, नेपाल सरकार वा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना यस्ता हतियार बनाउने, बेचबिखन गर्ने, बोक्ने वा भण्डारण गर्न पाइँदैन । यस नियमको उल्लङ्घन गरेमा ऐनको धारा ४ बमोजिम ६ महिनादेखि ५ वर्षसम्म कैद वा पाँच हजार देखि २५ हजार सम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । यदि हतियार दुरुपयोग गरिएको पाइएमा ५ देखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ ।
Facebook Comment
Comment