शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…

नेपालभ्युज

शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…
प्रतीकात्मक तस्वीर ।

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म शिक्षक तथा कर्मचारीले तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै नगरपालिका मातहतका २० वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रजिअ गणेश अर्याललाई विद्यालयको साँचो आज हस्तान्तरण गरेका हुन् । बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म साङ्केतिक विरोधस्वरुप ‘हाफ टाइम’सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले ६ महिनादेखि तलव सुविधा नपाएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउने अवस्थामा आइपुगेको बताए । ‘साउनदेखि तलबभत्ताको नाममा एक पैसा पाउन सकेका छैनौँ । हाम्रो पनि परिवार र बालबच्चा छन्,’ उनले भने, ‘धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो हस्तान्तरण गरेका हौँ ।’

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आपसी विवादका कारणले नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ ।

नगरप्रमुख तेलीले गत कात्तिक ८ गते नगरपालिकको नगरसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा नगरपालिकको आर्थिक गतिविधि ठप्प बनेको हो । प्रजिअ अर्यालले नगरपालिकासँग शिक्षक तथा अन्य कर्मचारीको तलबको विषयमा पटक–पटक छलफल गर्दा पनि प्रयास सफल नभएको बताए ।

‘हामीले यो समस्या समाधानका लागि धेरै पहल गरिसक्यौँ । तर अहिलेसम्म समस्याको गाँठो फुकाउन सकिएको छैन,’ उनले भने, ‘हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ ।’

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved