चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

नेपालभ्युज

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
सांकेतिक तस्वीर ।

ढोरपाटन । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने ती विद्यालय अब माघ तेस्रो साता मात्रै खुल्ने छन् ।

अत्यधिक चिसो बढेपछि पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले जानकारी दिए । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको छ । चिसोले विद्यार्थी कठ्याङग्रिएपछि पठनपाठन बन्द गरिएको उनले बताए ।

‘हिउँदमा ढोरपाटन क्षेत्रमा पठनपाठन गर्न समस्या हुन्छ, त्यसैले आगामी माघ २० गतेसम्म विद्यालय बन्द गरेका छौँ,’ घिमिरेले भने, ‘अहिले बन्द भएका विद्यालयमा वर्खामा भने नियमित पढाइ हुन्छ ।’

जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले सञ्चालन हुने हुँदा वर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयमा करिब तीन सय बढी विद्यार्थी अध्ययनरत छन् । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि पठनपाठन बन्द गरिएको बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved