रवि जोडिएको सहकारी ठगी मुद्दा : आज सरकारी वकिलको जवाफी बहस

आजै थुनछेक आदेश आउन सक्ने

नेपालभ्युज

रवि जोडिएको सहकारी ठगी मुद्दा : आज सरकारी वकिलको जवाफी बहस
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।

आज (बिहीबार) सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सातजना प्रतिवादीको थुनछेक बहस जारी छ ।

प्रतिवादीहरूका तर्फबाट कानुनी व्यवसायीहरूको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । पूर्वउपप्रधान एंव गृहमन्त्री लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यस प्रकरणमा इजलासले सकभर आजै नभए शुक्रबारसम्ममा थुनछेक आदेश गर्न सक्ने बताइएको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved