काठमाडौं । एनपीएलका कुल चौकाबापत एनसेल फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने भएको छ ।
एनसलले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो ।
यी सामग्री ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा प्रदान गरिने बताइएको छ । एनपीएलमा कुल ६५३ चौका हानिएका थिए । यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कुल दुई हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थी वितरण गर्ने पक्का भएको छ ।
यसले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने कम्पनीले विश्वास लिएको छ । विद्यार्थीले स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामग्री यसमा समावेश हुने एनसेलले जनाएको छ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।
त्यस्तै दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेल २६ चौका बापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।
त्यसै गरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।
‘क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
Facebook Comment
Comment