सहकारी ठगी प्रकरण

आज रवि लामिछानेको बयान लिइँदै

नेपालभ्युज

आज रवि लामिछानेको बयान लिइँदै
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज (मंगलबार) पनि जारी रहने भएको छ ।

आज जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान हुनेछ ।

सोही अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा आज  लामिछानेलगायतको हुन लागेको अदालत स्रोतले जनाएको छ ।

सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । तर जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ । बयान सकिएपछि उनीहरूको थुनछेक बहस हुनेछ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।

सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारी ठगीको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामाकसमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved