काठमाडौं । एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित कैलालीबाट तीनजना पक्राउ परेका छन् ।
उनीहरूलाई शनिबार साँझ करिब एक करोड बराबरको सामान र नगदसहित भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट गएकाे सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका –१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेका छन् ।
उनीहरूलाई सशस्त्र नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोस्ट (बीओपी ) पगियापसारले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
‘भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका ४ थान मोबाइल सेट र चाँदीको लेप लगाएका भाँडाकुँडासहित नियन्त्रणमा लिइएको छ,’ उनले भने ।
बरामद गरिएको सामानको स्रोत नखुलेपछि तीन जनालाई नियन्त्रणमा लिएको सहप्रवक्ता थापाले बताए । उनीहरूलाई बरामद सुन, चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनको भनाइ छ ।
Facebook Comment
Comment