एमालेको पुनरागमन कि कांग्रेसको निरन्तरता ? माओवादी आउला कि स्वतन्त्र उदाउला ? (भिडिओसहित)
कीर्तिपुरले कसलाई रोज्छ ? एमालेले आफ्नो किल्ला फिर्ता ल्याउला ? कांग्रेसले विजयलाई निरन्तरता दिन सक्छ ? कि माओवादी वा कुनै स्वतन्त्र उम्मेदवारको उदयको कथा हुनेछ ?
काठमाडौं । २०७९ को स्थानीय तह चुनावमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा कांग्रेसले सानदार जित हात पारेको थियो । सधैँ जित्दै आएको प्रतिस्पर्धी एमालेलाई ठूलो धक्का लाग्यो ।
मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि कांग्रेसबाट चुनिँदा एमाले दुई महिला सदस्यमा सीमित भयो । रोचक कुरा त, कीर्तिपुर २५ वर्षयता एमालेको गढ मानिएको थियो । २०५४ यता लगातार जित्दै आएको थियो एमालेले ।
२०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराएका थिए ।
तर, पछिल्लो चुनाव २०७९ मा कांगेसले ३ हजार ५ सयभन्दा बढी मतले जित्यो । एमालेको किल्ला भत्कियो । अघिल्लोपटक ३४ जनप्रतिनिधि जितेको एमाले दुई महिला सदस्यमा सीमित भयो ।
मेयरमा कांग्रेसले ९ हजार ४३ मत ल्याएर एमालेको किल्ला तोडिदियो । एमाले पाँच हजार ५ सय ७ मत ल्याएर दोस्रो भयो । तेस्रो भएको माओवादी केन्द्रले ४ हजार ९० मत ल्यायो ।
मेयर राजकुमार नकर्मीको निधन भएपछि मंसिर १६ गते उपचुनाव हुँदैछ । उस्तै कीर्तिपुरको १ र ४ नम्बर वडाअध्यक्षका लागि पनि चुनाव हुँदैछ । अहिले दलहरुले प्रचारप्रसार तिब्र पारेका छन् ।
उपचुनावमा कांग्रेससामु २५ वर्षपछि एमालेबाट फुत्काएको स्थान बचाउने चुनौती छ । एमाले फेरि जित फर्काउने होडमा छ ।
गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएको माओवादी केन्द्र पनि जित्ने रणनीतिमा लागेको छ । केही स्वतन्त्र उम्मेदवारसमेत दलहरूसँग प्रतिस्पर्धा गरेर विजय हासिल गर्न चाहन्छन् ।
कीर्तिपुरको नतिजालाई जोडेर काठमाडौं अनि सिङ्गो मुलुकको राजनीतिबारे विश्लेषण हुनसक्ने भएकाले नतिजा आफ्नो पक्षमा पार्न दलहरूलाई दबाब छ ।
कांग्रेस किल्ला बचाउने संघर्षमा
एमालेको पकड रहेको कीर्तिपुरमा २०७९ मा कांग्रेसले मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि जितेर एक ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
यसपटक प्रमुख तीन दलले नै राम्रा र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएकाले कडा प्रतिस्पर्धा हुनसक्ने स्थानीय बताउँछन् । उपचुनावमा कांग्रेसले कृष्णमान डङ्गोललाई उम्मेदवार बनाएको छ ।
वडा नम्बर २ का बासिन्दा डङ्गोल पार्टीका नगर सभापति हुन् । कीर्तिपुरमा पछिल्लो समय कांग्रेसको पकड बलियो राख्न डंगोलको प्रभाव निर्णायक थियो । अहिले उनी नै मेयरका प्रत्याशी बनेका छन् ।
यो नगरमा जित जोगाउन सफल हुने डंगोलको दाबी छ । उनी भन्छन्, ‘यसपटक म जित्नेमा ढुक्क छु । यसअघि ५ हजार मतान्तरले हामीले जितेका थियौँ । यसपालि मैले कम्तीमा १० हजार मत ल्याउने देखिन्छ । किनकि हाम्रा जनप्रतिनिधिले राम्रो काम गरिरहेको अवस्था छ । यसैले पनि मलाई सहज हुनेछ ।’
स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी रहेको कीर्तिपुरमा कांग्रेस उम्मेदवार डङ्गोल भने दलको उम्मेदवार बिना विकासका काम नहुने दाबी गर्छन् ।
स्वतन्त्र उम्मेदवार नभई दलकै उम्मेदवार आफ्नो प्रतिस्पर्धी रहेको बताउने उनी भन्छन्, ‘कीर्तिपुर नगरपालिकाको एक अर्ब २७ करोड बजेट छ । आन्तरिक स्रोत पनि कम छ । बजेट विभिन्न निकायबाट ल्याउनुपर्छ । केन्द्र र प्रदेशमा दलहरूकै सरकार छ । नगरको मुहार फेर्न बजेट नल्याई हुँदैन । यसैले नगरमा स्वतन्त्रले गर्न सक्दैनन् । दलकै नेतृत्व चाहिन्छ ।’
एमालेलाई मौका
यहाँ एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । ३ नम्बर वडाका बासिन्दा मानन्धरसँग मतदातामाझ लोकप्रिय छवि छ ।
उनको अनुभव र कार्यक्षमताले एमालेका समर्थकलाई पुनः उत्साहित बनाएको छ । तर, यसअघि फराकिलो मतान्तरले हारेकाले एमालेलाई चुनौती छ ।
मानन्धरले २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं–१० बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गरेका थिए ।
त्यो चुनावमा कांग्रेसका राजेन्द्र केसीले २० हजार ३९२ मत ल्याएर जित्दा उनी १३ हजार ६१५ मत ल्याएर दोस्रो भए ।
१२ हजार ८५२ मत ल्याएर प्रचण्ड तेस्रो भएका थिए । तर, त्यसपछिका चुनावमा भने उनले उम्मेदवार बन्ने मौका पाएनन् ।
मानन्धर कीर्तिपुरका जनतामा अन्यत्र जस्तै निराशा रहेकोले आशा जगाउने काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पढेलेखेका युवाले रोजगारी पाएका छैनन् । उनीहरूमा निराश छ । राज्यप्रति नै फ्रस्ट्रेसन छ । यसैले उत्पादन र रोजगारीसँग जोड्ने योजना ल्याउनेछु ।’
युवालाई प्राविधिक र महिलालाई सीपमूलक तालिमहरू दिने तथा आर्थिक ऊर्जासँग जोड्दा युवामा निराशा घट्ने उनको बुझाइ छ ।
प्रभाव बढाउँदै माओवादी
माओवादीका उम्मेदवार प्राडा. शिवशरण महर्जन यसक्षेत्रका परिचित व्यक्तित्व हुन् । त्यसैले उनी पनि प्रतिस्पर्धामा जाने अनुमान गरिएको छ ।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार धेरै भएकाले मत धेरैतिर बाँडिदा आफूलाई अवसर बन्न सक्ने माओवादीको विश्लेषण छ ।
वडा नम्बर १० का बासिन्दा महर्जन शिक्षाविद् हुन् । २०७९ को चुनावमा तेस्रो भएका उनी अहिले पहिलोमा उक्लने अपेक्षामा छन् ।
२८ कात्तिकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ उपस्थित भएर शिवशरणलाई उम्मेदवार घोषणा गरेका थिए ।
उम्मेदवार घोषणा सभाबाटै प्रचण्डले यसपटक कीर्तिपुरमा माओवादीले कीर्तिमान रच्नेगरी मैदानमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
अहिले विगतका गल्ती सच्याएर र माओवादीको काम जनतामा बुझाइरहेकाले जित्ने सम्भावना रहेको मेयरका उम्मेदवार शिवशरण बताउँछन् ।
‘०७९ को स्थानीय चुनावमा एमाले हराउनुपर्छ भन्नेमा मात्रै जोड भयो । हाम्रो उम्मेदवार धेरै वडामा भएन । हामी गठबन्धनमा लाग्यौँ । यसैले प्राविधिक रुपमा हार्न पुगेका हौँ । यसपटक केन्द्र सरकारमा पनि हामीले राम्रो गरेका थियौँ, अब स्थानीय तहमा पनि हामीले जित्न सक्ने आधार बनेको छ ।’
स्वतन्त्र उम्मेदवार पनि चर्चामा
यस पटकको चुनावमा कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार पनि महत्त्वपूर्ण खेलाडीका रूपमा उदाइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’को सरल र सशक्त अभियानले विशेष गरी युवालाई आकर्षित गरिरहेको छ ।
धरानको मेयरमा स्वतन्त्र जितेका हर्क साम्पाङले पनि उनलाई समर्थन गरेका छन् । साम्पाङले कीर्तिपुर आएर उनका लागि भोट मागेका छन् ।
काठमाडौंका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन पाउने आशा उनले राखेका छन् । कीर्तिपुरको सफाइ अभियन्ता र व्यवसायी पनि भएकाले मानवको राम्रै चर्चा छ ।
उनी भन्छन्, ‘म राजनीतिज्ञ होइन । अभियन्ता हुँ । समाज व्यवस्थापनका लागि कानुन चाहिने रहेछ । अभियानले मात्र सम्भव नभएकाले म राजनीतिमा आएको हुँ । निर्वाचित भएमा सफाइ अभियानलाई कायमै राख्छु ।’
कसले जित्ला ?
अब चुनाव आउन एक साता पनि बाँकी छैन । चुनाव प्रचारले तीव्रता पाएको छ । घरदैलो गर्दै गरेका उम्मेदवार, उनीहरुका समर्थकले कीर्तिपुरको माहोल चुनावमय भइरहेको छ ।
तर, असल नेतृत्वको खोजीमा रहेको कीर्तिपुरले कसलाई रोज्छ ? के एमालेले आफ्नो किल्ला फिर्ता ल्याउँछ ? कांग्रेसले आफ्नो विजयलाई निरन्तरता दिन सक्छ ?
कि यो माओवादी वा कुनै स्वतन्त्र उम्मेदवारको उदयको कथा हुनेछ ? मंसिर १६, कीर्तिपुर अर्को महत्त्वपूर्ण दिनको प्रतीक्षामा छ ।
अहिलेसम्मको अवस्था हेर्दा कीर्तिपुरमा चौपक्षीय प्रतिस्पर्धा देखिन्छ । कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल हुन् । तर, माओवादीले पनि एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेर आफू मैदानमा बलियो रहेको प्रमाणित गर्न खोजिरहेको छ ।
अर्कातिर स्वतन्त्र उम्मेदवारको अवस्था पनि मजबुत रहेको विश्लेषण हुन थालेको छ । दलहरुको लडाइँमा स्वतन्त्रले बाजी मार्न सक्ने सम्भावना पनि कतिपयले औंल्याउँछन् ।
तर, कतिपयले भने राजमान महर्जनले राम्रै मत ल्याए पनि जित्ने अवस्थामा भने नरहेको दाबी गरिरहेका छन् । त्यस्तो अवस्थामा राजमानले ठूला दलको खेल भने पक्कै बिगार्न सक्नेछन् ।
Facebook Comment
Comment