सिनामंगल घटना : ६ वर्षे नाति रियानले दिए दागबत्ती, छोराबुहारी गुमाएका हजुरबाको जल्यो मन !

६ वर्षे रियानको सानो हात समाउँदै हजुरबाले छोराबुहारीलाई दागबत्ती दिए । सपनाको महल ढाल्ने गरी छोरा बुहारीको मृत्युको घटना भोगेका सुनसरीका कच्छु माझीलाई जीवनभरको गर्वबाट शोकको महासागरमा पुर्‍याएको थियो । ‘ड्याडी मम्मी कहिले उठ्नुहुन्छ ?’ भन्ने नाती रियानको अबोध प्रश्नले सबैलाई स्तब्ध बनायो । सिनामंगलमा दम्पतीको रहस्यमय मृत्यु प्रकरणपछि देखिएको दृश्य ।

सिनामंगल घटना : ६ वर्षे नाति रियानले दिए दागबत्ती, छोराबुहारी गुमाएका हजुरबाको जल्यो मन !

काठमाडौं । ६ वर्षे अबोध बालक, आफ्ना बाबुआमासँग रमाउने बेला तर, रियान माझी पशुपति आर्यघाटमा आफ्ना बाबुआमाका शव अगाडि उभिएका थिए ।

पुजारीले दागबत्ती दिनुपर्ने विधि सम्झाए । शव जनाउने तयारी भयो । दाहसंस्कारको पालो थियो । ५५ वर्षीय कच्छु माझीले नाति रियानलाई कपासको बत्ती बालेर दिए । अगाडि लडिरहेका आफ्नो बुबाआमाको मुखमा राख्न भने ।

रियानले आफ्ना साना हात पछाडि तान्दै रुँदै भने, ‘अहँ मेरो ड्याडी ममुलाई पोल्छ हुँदैन।’

कच्छुका आँखा भरिए । भित्रभित्रै मन जलेको थियो । आँसु रोक्दै कच्छुले भने, ‘बाबु, तिमीले यो गर्नैपर्छ । यो हाम्रो संस्कार हो । तिमीले दागबत्ती देउ ।’

रियानका सानो हात समाएर हजुबाले छोरा रमेश, बुहारी शर्मिला शवको मुखमा आगो झोँसे । ‘नाइँ, मेरो ड्याडी ममीलाई पोल्छ,’ भन्दै रियान जोडले रुन थाले ।

‘ड्याडी, मम्मी कहिले उठ्नुहुन्छ ?’ रियानको अबोध प्रश्नले मलामी सबैलाई स्तब्ध बनायो ।

कच्छुले पनि कहाँ मन थाम्न सकेका थिएनन् । ‘छोरा, तिमीले त मभन्दा पहिले जाने निर्णय लियौँ । तर, मैले तिम्रो चिताको अगाडि उभिने कल्पना कहिल्यै गरेको थिइनँ,’ कच्छुको आँसु पुछ्नै नसकिने गरी बग्यो ।

कच्छुकी पत्नी अघि नै भूँइमा ढलिसकेकी थिइन् । आफन्तले सम्हाल्दै थिए । दागबत्ती दिएपछि शवलाई अगाडि रहेको विद्युतीय शवदाह भट्टीमा गुडाएर पठाइयो ।

हिन्दु परम्परा अनुसार नै विद्युत् शव दाहगृहमा अन्तिम संस्कार गर्न मिल्ने व्यवस्था छ । सोही अनुसार कच्छुले छोरा बुहारीलाई बिदाइ गरेका थिए ।

सपनाको महल ढलाउने त्यो फोन

आइतबार बिहान मात्र सुनसरीको दुहबीबाट काठमाडौंसम्मको यात्रा गरेका ५५ वर्षीय कच्छु माझीका लागि यात्रा जति लामो थियो, त्यसभन्दा धेरै गहिरो चोट थियो ।

उनी सधैँ गर्व गर्थे, छोराले विदेशमा राम्रो पढाई सक्यो, बुहारीलाई पनि साथमा लिएर गएको छ । तर, आइतबार बिहान ८ बजे आएको एउटा फोनले उनको जीवनभरको गर्वलाई धुलोमा मिलाइदियो ।

समुदायमा पछि पारिएको माझी जाति । छोरा रमेशले उच्च अंक ल्याएर मास्टर्स गरेका थिए । ‘छोराबुहारी क्यानडामा पौरख गरिरहेका छन् । बाउबाजेदेखि मेरो पुर्खाले यहाँबाट अन्त जान सकेन । धन्य मेरो छोरा’ भन्दै कच्छु गर्व गर्थे ।

तर, आज उनैलाई दुनियाँकै सबैभन्दा कमजोर मानिस बनाइदियो ।

‘तपाईँको छोराबुहारीको लास फेला परेको छ । लास बुझ्न छिटो आइहाल्नुस्’ गौशालाबाट आएको यो फोनको अर्थ बुझ्नै कठिन भयो ।

सुरुमा ‘गलत फोन नम्बर परेको’ र आफू सम्बन्धित मानिस नभएको भन्दै प्रहरीलाई जवाफ फर्काए । कच्छुले जवाफ फर्काए, ‘मेरा छोरा बुहारी क्यानडा छन् । तपाईँले गलत नम्बरमा फोन गर्नुभयो ।’

२ वर्षअघि छोराबुहारी र नातीसँग कच्छु माझी दम्पती

सिनामंगलस्थित जन्मभूमि होटलको बरन्डामा आइतबार मृत भेटिएका थिए, एक दम्पती ।

पासर्पाेट हेर्दा परिचय खुल्यो, सुनसरीको दुहबी ८ का ३४ वर्षीय रमेश माझी र उनकी २९ बर्सिया श्रीमती शर्मिला रहेछन् ।

प्रहरीले उनीहरूको मृतकको बुबाको नाम र पासर्पाेटको परिचयसहित कच्छुलाई जानकारी गराएको थियो । त्यो वाक्यले कच्छु छाँगाबाट खसे झैँ भए । सपनाहरू भत्कायो ।

छिमेकीले सान्त्वना दिए । उनि आठदशजना छिकेकी जम्मा गरेर काठमाडौं आए । कच्छुले लिएर आएका थिए, छ वर्षे नाति रियान पनि । त्यो नाति जसले केही बुझ्दैनथ्यो—के भइरहेको छ ।

विदेशको सपना, घरको रहर

रमेश र शर्मिलाले दुई वर्षअघि क्यानडा जाने बेलामा त्यो बेलामा ४ वर्षे रियानलाई सुनसरीमै आमाबाबुका जिम्मा लगाएका थिए ।

‘क्यानडा गएर गएर राम्रो कमाइ गरेर फर्किन्छौँ हामी । सबैको भविष्य बनाउनेछौँ, पैसा पठाउछौँ, तपाई ठुलो घर बनाउनुस् ।’ तर त्यो सबैको भविष्य बनाउने सपना अब कहिल्यै पूरा हुने भएन ।

आइतबार घटनास्थल सिनामंगल पुगेका आफन्त र प्रहरीको नजरले देखेको दृश्य कहिल्यै बिर्सन सक्दैन ।

होटलको बरन्डाको रेलिङमा झुन्डिएको रमेशको जोडी, झट्ट हेर्दा आत्महत्या जस्तै लाग्ने दृश्य ।

रमेशको हातमा देखिएको घाउ, अनि घटनास्थलमा नभेटिएको सुसाइ नोटले पनि अनुसन्धान थप जटिल बनाएको छ । घटनास्थल देखेपछि आफन्तहरू भन्थे, ‘यो आत्महत्या नै हो कि ? अरू केही छ ?’

आफन्त आएर हेरेपछि घटनास्थल मुचुल्का गर्दै आइतबार शिक्षण अस्पतालमा शवको पोष्टमार्टम गरियो । रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । तर, रमेशको हातमा धारिलो हतियारले काटेको चोट देखिएको आफन्तले बताएका छन् ।

आफन्त भन्छन्, ‘केटाको हातमा चोट पनि थियो । अनि केटाकेटी दुबैजना झुन्डिएको देखिएको छ ।’

अनुसन्धानको क्रममा खुल्यो, रमेश र श्रीमती शर्मिला शनिबार नै क्यानडाबाट आएका थिए । आएलगतै बसेको होटेलमै मृत भेटिए । तर, नेपाल आउँदै गरेको खबर नपाएको सुनसरीबाट काठमाडौं आइपुगेका उनका बुबा कच्छु बताउँछन् ।

परिवारलाई थाहै नदिई नेपाल आएका दम्पतीको मृत्युले घटना रहस्यमय बनेको छ ।

कच्छु भन्छन्, ‘छोरा बुहारीसँग कुरा नभएको एक हप्ता जति भइसकेको थियो । उनीहरूले नेपाल आउने कुनै गरेका थिएनन् । एक्कासि हिजो प्रहरीले घटनाबारे बताएपछि छाँगाबाट खसेको जस्तो थियौँ ।’

दुवही ८ का वडाअध्यक्ष तारिकचन्द सरदार पनि रमेश दम्पती मृत भेटिएपछि झसङ्ग भएको बताउँछन् ।

उनी भन्छन्, ‘माझी समुदायको अगुवा मान्छे थियो । यो ठाउँमा त्यो समुदायबाट त्यत्तिमाथि कोही गएकै छैन । त्यत्रो लक्ष्य लिएर क्यानडा गएको मान्छेका त्यो घटना सुन्दा पत्याउनै सकिएन ।’

***

मृतक दम्पतीले २ वर्षअघि २०७९ भदौ ८ गते क्यानडा जाँदा ४ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएका थिए । रमेश पढाई सकेर अलि अघि क्यानडा गएका थिए ।

उनी २ वर्षअघि नेपाल आएर पत्नी शर्मिलालाई डिपेन्डेन्ट भिसामा लगेका थिए । छोरा रिहान भने सानै रहेका कारण लगेनन् ।

परिवार भन्छन्, ‘छोरा विदेश जाँदा केही जग्गा जमिन बेचेर खर्च जुटाएका थियौँ । ऋण भने केही लिनु परेन । घर राम्रै चलिरहेको थियो । छोरा बुहारीसँग फोनमा नियमित कुरा भइरहेको थियो । तर के भयो, कसरी आकस्मिक नेपाल आएँ ? कसरी मृत्यु भयो केही सोच्ने सकिएको छैन ।’

घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन । उनीहरूको पासर्पाेट हेर्दा थाहा भयो, अघिल्लो दिन शनिबार मात्रै क्यानडाबाट काठमाडौं फर्केका रहेछन् ।

घटनाको जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ । फरेन्सिक विज्ञसहितको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

क्यानडाबाट फर्किएर ‘आत्महत्या’

सिनामंगलको जन्मभूमि नामको होटलमा शनिबार साँझ साढे ७ बजेतिर समयमा रमेश दम्पती पुगेका थिए । होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरू बसे ।

उनीहरूले भोलिपल्ट आइतबार बिहानसम्म ढोका खोलेनन् । केही पनि अर्डर गरेनन् । त्यसपछि शंका लागेर होटलवालाले तलबाट उनीहरूको कोठातिर हेर्दा बरन्डाको रेलिङमा कोही झुन्डिएको जस्तो देखे । फोन गर्दा उठेन । माथि गएर ढोकामा ढकढक गर्दा ढोका खुलेन, कोही बोलेन ।

पछि प्रहरी बोलाइयो । ढोका फोडेर हेर्दा होटलको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरू मृत भेटिए ।

उनीहरु ‘थारु माझी’ हुन् । थारुको पहिरन सेतो सल (गोनिया) लिएर आएका रहेछन् । त्यही गोनिया (सेतो कपडाको सल)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा दुवै जनाको शव भेटिएको थियो ।

त्यसपछि परिवारलाई खबर गरिएको थियो । यसरी विदेशी भविष्यको खोजीमा गएको परिवारको कथा, अब बिछोड र पीडाको सम्झनामा सीमित रह्यो ।

सम्बन्धित समाचार

सिनामंगलको गेष्टहाउसमा युवायुवतीको रहस्यमय ढंगले मृत्यु

क्यानडाबाट फर्किएका थिए सिनामंगलको गेष्टहाउसमा मृत भेटिएका जोडी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved