एनपीएलको ‘पावर्ड बाई’ प्रायोजक एनसेल 

नेपालभ्युज

एनपीएलको ‘पावर्ड बाई’ प्रायोजक एनसेल 

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजन गर्ने भएको छ ।

आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतीक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान)बीच सो साझेदारी भएको हो ।

प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेट प्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।

व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यो सहकार्य एनसेलको ‘हामी तपाईँकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ ।

जाब्बोरले भने, “यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुसी छौं ।’

उनले थपे, ‘यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।’

मंसिर १५ गते देखि पौष ६ गते सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved