काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरे पनि उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन् ।
विसं २०७० जेठ ५ गते सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर हुँदै आएको छ । जति सफाइ गरे पनि नदी सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् ।
सुरुआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि बागमती सफा देखिन नसकेको बताउँछन् ।
मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै बागमती सफाइ हुन नसकेको उनको निष्कर्ष छ ।
महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन ।
सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन् ।
Facebook Comment
Comment