काठमाडौं । एसईई पास गरेपछि काठमाडौं आएकी एक किशोरीलाई मसाज सेन्टर (स्पा)को जागिरको प्रलोभन देखाएर यौनधन्दामा लगाइएको पाइएको छ । आर्थिक अवस्था कमजोर भएपछि स्पामा काम गर्न थालेकी उनलाई प्रहरीले उद्धार गरेको छ । मसाज सेन्टर सञ्चालन गर्ने तीन महिलालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं. ५ घर भई काठमाडौं बस्ने ३५ वर्षकी आशा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती ४ घर भई काठमाडौं बस्ने ४३ वर्षकी फूलमाया तामाङ र लमजुङ बेसिशहर ८ घर भई काठमाडौं बस्ने ३८ वर्षकी सपना खवासलाई प्रहरीको मानवबेचखिन ब्यूरोले पक्राउ गरी मुद्दा चलाएको हो । उनीहरू अहिले पुर्पक्षको लागि जेल चलान भएका छन् ।
किशोरी नाम परिवर्तन (बबरमहल ३४३)को बयानअनुसार उनी सुरुमा ठमेलको नर्सिङ चोकस्थित एक मसाज सेन्टरमा २ वर्ष काम गरिन् ।
बाबु बेपत्ता भएका र आमा साउदी अरबमा रोजगारीको सिलसिलामा भएकी ती किशोरीलाई पछि लमजुङ घर भई ठमेल बस्ने सपना खवासले आफ्नो मसाज सेन्टरमा लगिन् । ती किशोरीलाई सपना खवासले आफ्नो हिमालयन आयुर्वेदिक स्पामा मात्रै होइन, अन्य स्पाहरूमा समेत लगेर यौन शोषणमा लगाउन थालिन् ।
सपना खवासले ती युवतीलाई गोरखाकी आशा तामाङ र सिन्धुपाल्चोककी फूलमाया तामाङले सञ्चालन गरेको प्यानिक स्पामा युवतीलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म काममा पठाउँथिन् । प्यानिक स्पामा आफू र अरू २ जनालाई यौनजन्य क्रियाकलापमा लगाइएको उनले बताएकी छिन् ।
पीडितले किशोरीले भनेकी छिन्, “ग्राहकसँग यौन सम्पर्क गराएबापत् २५ प्रतिशत कमिसन दिने गरेको र जति बढी काम गर्यो, त्यति बढी कमिसन पाइने प्रलोभन देखाइएको थियो ।”
एकजना ग्राहकबापत् १५०० लिएर आफूलाई ५०० का दरले दिने गरेको पीडित किशोरीले बताएकी छिन् । आफ्नो स्पामा ग्राहक नभएको बेलामा स्पा सञ्चालकले अरूसँग सम्पर्क गरी पठाउने गरेको बताएकी छिन् ।
उनीहरूले गेस्ट हाउसमा पठाउन खोजे पनि आफू नगएको पीडितले बताएकी छिन् । उनले भनेकी छिन्, “स्पामा कति जनासँग शारीरिक सम्पर्क भयो, त्यस्को रजिष्टरमा रेकर्ड राखिन्थ्यो । आशा तामाङ र फूलमाया तामाङले विभिन्न गेस्ट हाउसमा जानसमेत कर गर्थे तर, म गेस्ट हाउसमा गयनँ ।”
०००
आफ्नो नाजुक आर्थिक परिस्थितिको कारण यौनधन्दामा बाध्यताले लागेको बताउने ती किशोरीले अन्तमा काम छोडिन् । काम छोडेको भन्दै स्पा सञ्चालकले उनलाई कोठाबाट निकालिदिए । उनको आफ्नै कोठा थिएन ।
उनी स्पा सञ्चालक महिलासँगै बस्थिन् । उनको अन्त जाने ठाउँ थिएन । यसकारण उनी फेरि स्पामै यौनधन्दा गर्न बाध्य भइन् । तब उनलाई सञ्चालकले कोठामा राखे ।
“स्पामा हरेक कोठामा सिङ्गल बेड थिए । ग्राहकहरूले हामी स्टाफहरूलाई रोज्थे, आशा तामाङ र फूलमाया तामाङले नै कन्डम दिई ग्राहकले रोजेको स्टाफसँगभित्र पठाइदिने गर्थे । म महिनावारी भएको बेलामा पनि उक्त कार्य गर्न बाध्य पार्थे,” पीडित युवतीले भन्छिन् ।
ती किशोरीले ठमेलमै ग्राहकलाई यौन सन्तुष्टि दिइरहेकी थिइन् । सोही समयमा साउन १७ गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मार्दा उनको उद्धार भयो । उनीसहित तीनजना युवतीको उद्धार भयो । हाल पीडित किशोरी शुभग्राम अवसर नेपालको सुरक्षित आवासमा छिन् ।
पीडित किशोरीले भदौ २८ गते ती मसाज सञ्चालकविरुद्ध जाहेरी दरखास्त दिएकी छिन् । सोही आधारमा जिल्ला अदालत काठमाडौंमा मानव बेचबिखन मुद्दा दर्ता भएकोमा उनीहरू जेल गएका छन् ।
७० प्रतिशत मसाज सेन्टरमा यौनधन्दा
काठमाडौंका धेरै मसाज सेन्टरहरूमा मसाजका नाममा यौन धन्दा चलिरहेको एउटा अध्ययनले देखाएको छ । मसाज पार्लरमा काम गर्ने ६०.५ प्रतिशत महिलाले आफ्नो कार्यस्थलमा यौन गतिविधिमा संलग्न भएको स्वीकार गरेका छन् ।
अध्ययनका क्रममा भेटिएका ८२.५ प्रतिशतले कार्यस्थलमा यौनजन्य क्रियाकलाप हुने गरेको बताएका छन् ।
रक्षा नेपाल नामक गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डान्स बारमा काम गर्ने २० प्रतिशत र क्याबिन रेस्टुराँमा काम गर्ने २ प्रतिशतले यौन गतिविधि हुने कुरा मानेका छन् ।
अध्ययनले मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकांश किशोरी र महिला जनजाति समुदायका रहेको देखाएको छ ।
सुरक्षाकर्मी यी मसाज सेन्टर र मनोरञ्जन स्थलका मुख्य ग्राहक रहेको पाइएको छ । अध्ययनमा संलग्नका अनुसार, मसाज पार्लर, क्याबिन रेस्टुराँमा काम गर्ने महिलामध्ये ५९ प्रतिशत जनजाति समुदायका छन् ।
मसाज पार्लरमा काम गर्ने लगभग आधा अर्थात् ४७ प्रतिशत किशोरी १५ देखि २१ वर्ष उमेरका छन् भने ४४.५ प्रतिशत २२ देखि २८ वर्ष उमेरका छन् ।
यो अध्ययनका अनुसार डान्स बार, मसाज पार्लर, र क्याबिन रेस्टुराँमा आउने ९२ प्रतिशत ग्राहक सेना र प्रहरी रहेको पाइएको छ, जसको उमेर २१ देखि ५० वर्षको बीचमा छ ।
विदेशी ग्राहकमध्ये धेरैजसो भारतीय नागरिक हुने अध्ययनले देखाएको छ । यस अध्ययनमा रेस्टुराँ, डान्स बार, मसाज सेन्टर तथा केही गेस्ट हाउसमा काम गर्ने पाँच सय किशोरी तथा महिला सहभागी थिए ।
Facebook Comment
Comment