काठमाडौं । अक्टोबर ११, यो हप्ता शुक्रबार । यो तिथि भारतीय राजनीतिज्ञ जयप्रकाश नारायणको जन्मजयन्ती हो । नारायणलाई भारतीय राजनीतिमा ‘लोकनायक’ भनिन्छ । उनी सन् १९०२ अक्टोबर ११ मा जन्मिएका थिए । यो वर्ष उनको १२३औं जयन्ती हो ।
उनी १९७९ मा अक्टोबर ८ मा ७६ वर्षको उमेरमा बितेका थिए । उनको निधनको तिथि पनि हप्ताभित्र पर्दछ । मंगलबार उनको ४६ औं स्मृति दिवस थियो ।
नारायण यस अर्थमा मात्र दुर्लभ राजनीतिज्ञ थिएनन् कि उनी कहिल्यै राजकीय पदमा गएनन् । उनी १९७० को दशकको भारतीय राजनीतिका सर्वाधिक अग्ला व्यक्तित्व थिए । चाहेको भए उनी सन् १९७७ को पहिलो गैरकांग्रेसी जनता पार्टीको सरकारको प्रधानमन्त्री हुन सक्थे ।
उनको योगदान एक सिद्धान्तकार र आन्दोलनकर्ताका रूपमा बलियो थियो । सन् १९३४ मा आचार्य नरेन्द्र देव, डा. राममनोहर लोहियालगायतसँग मिलेर उनले समाजवादी पार्टी र आन्दोलनको जग बसाएका थिए ।
सन् १९२९ मा अमेरिकाबाट पढेर फर्किएका नारायण महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरूको सानिध्यमा रहेर स्वतन्त्रता आन्दोलनमा सामेल भएका थिए । तर, उनको विचार गान्धी र नेहरूको भन्दा केही फरक थियो । उनी भारतीय राष्ट्रिय कांग्रेसभित्र ‘वामपन्थी हाङ्गो’ को नेतृत्व र प्रतिनिधित्व गर्थे ।
डा. लोहिया आफ्नो सिद्धान्तलाई ‘सप्त क्रान्ति’ भन्थे । जेपी नारायण ‘सम्पूर्ण क्रान्ति’ । दुवै मार्क्सवादबाट प्रभावित थिए तर, कम्युनिष्ट थिएनन् । कांग्रेस र पण्डित नेहरूलाई उनीहरूले बुर्जुवा दल र नेताका रूपमा हेरे । तर, कम्युनिष्ट पार्टी उनीहरूको छनोटमा परेन ।
डा. लोहिया र नारायण दुवैले पुँजीवादी र साम्यवाद विचारधाराभन्दा फरक प्रकृतिको समाजवादी आन्दोलन निर्माणमा जोड दिए ।
नारायणको दोस्रो ठूलो योगदान सन् १९७५ को इन्दिरा गान्धीको आपत्कालविरुद्धको आन्दोलनको नेतृत्व थियो । फलतः यसले ‘जेपी आन्दोलन’ नाम पाएको थियो । यही आन्दोलनको बलमा कांग्रेस-कम्युनिष्ट बाहेकका भारतीय विपक्षी एउटै मोर्चामा आए र जनता पार्टी गठन गर्न राजी भएका थिए ।
सन् १९७७ को चुनावपछि पहिलो गैरकांग्रेसी सरकार गठन गर्न सफल भएका थिए । भारतीय राजनीतिमा ‘तेस्रो धार’ स्थापित गर्न उनको मुख्य भूमिका थियो ।
लोहिया र जेपी दुवै मौलिक चिन्तक थिए । निस्कलङ्क व्यक्तित्व थिए । योद्धा र राजनीतिका साधक थिए । स्वयम् आफ्नै प्रकारको समाजवादका सिद्धान्तकार थिए ।
तर, उनीहरूले निर्माण गर्न चाहेको राजनीतिक दल भने बलियो र देशको नेतृत्व गर्ने गरी निर्णायक भएन । उनीहरूले बलियो विचार र आन्दोलन बनाए तर, बलियो र निर्णायक दल बनाउन भने सकेनन् ।
तत्कालीन समयमा जेपी-लोहिया धारभन्दा कमजोर मानिएको भारतीय जनसङ्घले भारतीय जनता पार्टीका रूपमा आज देशको नेतृत्व गरिरहेको छ तर, जेपी-लोहिया धारका दलहरू भने अनेक साना ठूलो समूहमा विभक्त छन् ।
भारतीय राजनीतिक इतिहासमा लोहियाका दुर्भाग्यबारे केही रोचक कथा छन् । भनिन्छ– तीन ठूला दुर्भाग्यद्वारा लखेटिएका थिए ।
लोहियाको पहिलो दुर्भाग्य थियो– सन् १९४८ जनवरी २८ को रात महात्मा गान्धीको कोठामा निदाउनु ।
त्यो दिन भारतीय राजनीतिको भावी दिशाबारे गम्भीर कुरा गर्न लोहियालाई गान्धीजीले आफ्नै कोठामा बोलाएका थिए । तर, खाना खाएर ओछ्यानमा ढल्किएका लोहिया भुसुक्कै निदाए । उनको गहिरो निद्रा देखेर गान्धीले उठाएन चाहेनन् ।
कुरा गर्ने दिन जनवरी ३० मा सारियो । तर, त्यो दिन लोहियाले भेट्न नपाउँदै गान्धीजीको हत्या भयो । नेहरू, कांग्रेस र सोसलिस्ट पार्टीको सम्बन्धबारे गान्धीजी कसरी सोच्दै थिए ? लोहिया र समाजवादी पार्टीको भविष्यबारे गान्धीको धारणा के कस्तो हुने थियो, त्यो बुझ्न नपाउनु लोहियाको पहिलो दुर्भाग्य थियो ।
लहियाको दोस्रो दुर्भाग्य सन् १९५६ को डिसेम्बरमा आयो । उनको समाजवादी पार्टी नेहरू नेतृत्वको कांग्रेसभन्दा कमजोर भएको थियो । उनी डा. भीमराव अक्बेडकरलाई अध्यक्ष र आफूलाई महासचिव बनाएर समाजवादी पार्टी पुनगर्ठन गर्ने योजनामा थिए । डिसेम्बर ७ मा दुई नेताबीच निर्णायक भेटको दिन तय गरिएको थियो । तर, एक दिनअघि डिसेम्बर ६ मा अम्बेडकरको निधन भयो ।
लोहियाको तेस्रो दुर्भाग्य सन् १९६७ मा स्वयम् उनैमाथि घटित भयो । त्यतिखेर जयप्रकाश नारायण सर्वोदय आन्दोलनमा थिए, दलीय राजनीतिमा सक्रिय थिएनन् ।
जेपीको लोकप्रियता चरमचुलीमा थियो । डा. लोहिया जेपीको अध्यक्षतामा भारतको सम्पूर्ण गैरकांग्रेस पार्टीलाई एक बनाउन चाहन्थे । जेपी त्यसका लागि लगभग राजी थिए । तर, जेपीसँग निर्णायक वार्ता तय भएको अघिल्लो दिन १२ अक्टोबरमा लोहिया आफैँ बिते । त्यतिखेर उनी ५७ वर्षको मात्र थिए ।
लोहियाको निधनपछि जेपी समाजवादी आन्दोलनको अघोषित उत्तराधिकार र प्राधिकार बनेका थिए । लोहियाको इच्छा पनि यही थियो ।
भारत स्वतन्त्र हुनु अगाडि नै क्षेत्रीय दलहरूलाई छोडेर ४ मुख्य राष्ट्रिय राजनीतिक प्रवृत्ति थिए । ती थिए– कांग्रेस, कम्युनिष्ट, सोसलिस्ट र जनसङ्घ ।
स्वतन्त्रतापछिको पहिलो आम चुनाव सन् १९५२ मा करिब ४ करोड ८० लाख भोट र ३६४ सिट जितेर कांग्रेस पहिलो, करिब ३५ लाख भोट र १६ सिट जितेर कम्युनिष्ट दोस्रो, करिब १ करोड १३ लाख र १२ सिटले समाजवादी तेस्रो, करिब ३३ लाख भोट र ३ सिट पाएर जनसङ्घ चौथो भएको थियो । यो क्रम त्यसपछि सन् १९७७ अघिका सबै निर्वाचनमा कायम थियो ।
रोचक के थियो भने कम्युनिष्टहरू सिटमा दोस्रो भए पनि भोटमा सोसलिस्ट दोस्रो थिए ।
जब सन् १९७५ मा इन्दिरा गान्धीले आपत्काल लगाइन्, जेपीले त्यसविरुद्धमा राष्ट्रिय आन्दोलनको नेतृत्व गरे । कांग्रेस र कम्युनिष्टबाहेकका सबै विपक्षी दल मिलेर जनता पार्टी बन्यो । सन् १९७७ को आम निर्वाचनमा त्यसले पहिलो गैरकांग्रेस सरकार बनायो । कांग्रेस छोडेर आएका मुरारजी देशाई जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बने ।
कतिपय भारतीय इतिहासकार मुरारजी देशाईलाई सरकारको नेतृत्व दिनु जेपीको ठूलो गल्ती थियो भन्ने ठान्दछन् । जेपी त्यो समय जनता पार्टीको एकछत्र नेता थिए । उनलाई संसदीय दलको नेता हुन र प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैनथ्यो । तर, उनले सत्तामा नजाने, राजनीतिलाई साधनाका रूपमा मात्र लिने र सत्ताबाहिरै बसेर बाँकी जीवन बिताउने अड्डी लिए । यस्ता त्यागी नेताहरू इतिहासमा विरलै जन्मिन्छन् ।
तर, उनको त्यागले राजनीतिको कोर्स भने फरक बनाइदियो । देशाई कमजोर राजनीतिज्ञ र कमसल प्रधानमन्त्री साबित भए । कांग्रेस छोडेर आएको हुँदा उनको नैतिक बल कमजोर थियो । उनी समर्पित सोसलिस्ट पनि थिएनन् ।
तर, जनसङ्घ धारका नेताहरू आफ्नो विचार र उद्देश्यमा प्रष्ट थिए । देशाई सरकारमा अटलबिहारी बाजपेयी विदेश र लालकृष्ण अड्बानी सूचनामन्त्री थिए । बाजपेयी र आड्बानी देशाई सरकारमा नयाँ स्टारजस्तो देखिए । जनता पार्टी र सरकारमार्फत यी दुई जनसङ्घ युवा नेताको राष्ट्रिय उभारले जनता पार्टीभित्र समाजवादी धारलाई कमजोर जनसङ्घ धारलाई मजबुत बनायो ।
यदि जेपी आफैँ प्रधानमन्त्री हुन्थे भने उनको व्यक्तित्वले थिच्थ्यो । अर्थात् जनसङ्घ धारमाथि सोसलिस्ट धार हाबी हुन्थ्यो । आज भाजपाको ठाउँमा जनता पार्टी निर्णायक बनेर उदाउन सक्थ्यो । यद्यपि, अब यो एक ‘हाइपोथेसिस’ मात्र हो ।
दोस्रो गल्ती त्यतिखेर भयो जब मुरारजी देशाईको सरकार ढल्यो र जनता पार्टी फुट्यो, जनता पार्टीमा एकीकृत भएका सोसलिस्ट धारका कार्यकर्ता संरक्षणको अभावमा जनसङ्घ धारतिर लागे । त्यसको गतिला उदाहरण थिए– अरुण जेटली र सुष्मा स्वराज । जो पछि भाजपाका निकै ठूला र लोकप्रिय नेता बने ।
बाजपेयी-आड्बानी धारलाई त्यसबाट निकै ठूलो राजनीतिक लाभ भयो भने लोहिया-जेपी धार कमजोर हुन थाल्यो ।
सोसलिस्ट धारमा टुटफुट व्यापक हुँदै गयो । भाजपाको केन्द्र बलियो देखियो । जनता दलको फुट पछिको पहिलो आम चुनावमा भाजपाले २ सिट मात्र पाए पनि लोकप्रिय मतमा करिब १ करोड ८३ भोट ल्याई कांग्रेसपछिको दोस्रो दल भइसकेको थियो ।
कांग्रेस धारबाट अहिलेसम्म ७ प्रधानमन्त्री भए । जवाहरलाल नेहरू, गुल्जारीलाल नन्दा, लालबहादुर शास्त्री, इन्दिरा गान्धी, राजीव गान्धी, पीपी नरसिंह राव र मनमोहन सिंह ।
सोसलिस्ट भनिने धारबाट पनि ६ प्रधानमन्त्री भए । मुरारजी देशाई, चरणसिंह चौधरी, पीवी सिंह, चन्द्रशेखर, एचडी देवेगौडा र इन्द्रकुमार गुजराल ।
जनसङ्घ धारबाट २ प्रधानमन्त्री भए । अटलबिहारी बाजपेयी र नरेन्द्र मोदी । कम्युनिष्ट धारबाट अहिलेसम्म प्रधानमन्त्री भएका छैनन् ।
यी प्रधानमन्त्रीहरूको व्यक्तित्वको तुलना गर्दा चन्द्रशेखर र देवेगौडालाई छोडेर कोही पनि समर्पित सोसलिस्ट थिएनन् । सबै कांग्रेसबाट असन्तुष्ट भएर समाजवादी धारमा आएका थिए । सत्ता गठबन्धनको मोहमा सोसलिस्ट धारका नेताले कांग्रेसबाट पलायनहरूलाई साथ दिए । जसले सोसलिस्ट धारलाई बलियो हुन मद्दत गरेन ।
यद्यपि, परिवारवाद भारतीय राजनीतिको ठूलो रोग हो । यो सबै धारमा धेरथोर छ । सबैभन्दा ठूलो उदाहरण त कांग्रेसमा गान्धी परिवारलाई मानिन्छ । तर, जेपी-लोहिया धारका दलमा झन् धेरै परिवारवाद देखियो ।
बिहारका लालु यादव, उत्तर प्रदेशका मुलायम सिंह यादव, कर्नाटकका एचडी देवेगौडा र उडिसाका बिजु पटनायक परिवार यसका उदाहरण हुन् । यही धारबाट जन्मिएको नीतीश कुमारको जनता दल युनाइटेड भाजपाको सहयोगी बन्न पुग्यो ।
कुनै समय लालु, नीतीश, मुलायम, देवेगौडा, पटनायक जेपी आन्दोलनका होनहार उत्पादन मानिन्थे । तर, यी कसैको पनि राजनीतिक इतिहास त्यति शुद्ध र अनुकरणीय रहेन, जति जेपी नारायणको थियो ।
भारतीय राजनीतिमा कांग्रेस, कम्युनिष्ट र सोसलिस्टसँग भाजपाको तुलना गर्दा निम्न भिन्नता देखिन्छ ।
एक— कांग्रेस, कम्युनिष्ट र सोसलिस्टहरूको बलियो केन्द्र छैन । असाध्यै धेरै ससाना समूह र क्षेत्रीय दलका रूपमा विभाजित छन् । भाजपाको बलियो केन्द्र छ ।
दुई— कम्युनिष्टहरूलाई छोडेर अरु सबैजसो धारका दलमा परिवारवाद हाबी छ । भाजपामा परिवारवाद निर्णायक छैन । भाजपामा मिसन अभिमुख नेता कार्यकर्ताले परिवारवादलाई हाबी हुन नदिएर निश्चित साइजमा राखेका छन् ।
तीन— अरु दलका कार्यकर्तामा अवसरवाद बढी छ । पार्टीका ठूलै नेताले जुनकुनै बेला पार्टी छोड्न र अर्कोमा प्रवेश गर्न सक्दछन तर, भाजपाका सम्मानित नेताहरूले पदका लागि पार्टी छोडेको विरलै इतिहास छ ।
चार— अरु दलमा व्यक्तिगत महत्वाकाङ्क्षा र अहम्को लडाइँ बढी छ, भाजपामा त्यो कम छ । मोदीलाई भावी प्रधानमन्त्री घोषणा गर्दा आड्बानी असन्तुष्ट थिए । तर, पनि उनी पार्टी निर्णयविरुद्ध गएनन् । ७० वर्ष कटेपछि सिनियर नेतालाई भाजपाले मार्गदर्शक मण्डलमा राख्दछ । अरु पार्टीमा बृद्ध र अशक्त पनि रिटायर्ड हुँदैनन् । बरु बुढेशकालमा पार्टीसँग विद्रोह गर्दछन् ।
पाँच— भाजपाका कार्यकर्तामा पार्टी भावना बलियो छ । कुनै नेताले पार्टी छोडे पनि उनीहरू पछि लाग्दैनन् ।
डा. लोहियाको अल्यायुमै निधन, जनता पार्टीको टुटफुट र लालु-मुलायमको परिवारवाद नभएको भए सायद कांग्रेस-कम्युनिष्टको विकल्पमा सोसलिस्टहरू निर्णायक शक्तिका रूपमा आउन सक्थे । यस्तो आधार मूलतः जेपी नारायणले नै तयार गरेका थिए, जसको सही सदुपयोग भने हुन सकेन ।
जेपीका राजनीतिक उत्तराधिकारहरूको स्थिति आज के छ त्यो भिन्नै कुरा हो तर, जेपी आफैँ भने राजनीतिका एक ठूला साधक थिए । निस्वार्थ र निस्कलङ्क साधक ।
Facebook Comment
Comment