अबिच्युरी

रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा

रतन १० वर्षको हुँदा आमाबुवाको सम्बन्धविच्छेद भयो । १८ वर्षको हुँदा उनका बुबाले स्वीस महिला सिमोन डुनोयरसँग विवाह गरे । अर्कोतर्फ उनकी आमाले सम्बन्धविच्छेदपछि सर जमशेदजी जीजीभोयसँग विवाह गरिन् । रतनलाई उनकी हजुरआमा लेडी नवाजबाई टाटाले हुर्काएकी हुन् ।

नेपालभ्युज

रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा

काठमाडौं । सन् १९९२ मा इन्डियन एयरलाइन्सका कर्मचारीमाझ एउटा अचम्मको सर्वेक्षण गरिएको थियो ।

उनीहरूलाई सोधियो कि ‘दिल्लीबाट मुम्बईको उडानमा तपाईंलाई सबैभन्दा बढी प्रभावित गर्ने यात्रु को हुन् ?’ त्यो सर्वेक्षणमा रतन टाटाले सबैभन्दा बढी भोट पाए ।

यसको कारण पत्ता लगाउने प्रयास गर्दा उनी एक्लै हिँड्ने भीआईपी भएको पाइएको थियो । झोला र फाइल बोक्न उनीसँग कोही सहायक थिएनन् । विमान उड्नेबित्तिकै चुपचाप आफ्नो काम सुरू गर्थे भने थोरै चिनी भएको कालो कफी माग्थे ।

आफूले रोजेको कफी नपाएको भन्दै उनले उडान कर्मचारीलाई कहिल्यै गाली गरेनन् । रतन टाटाको सादगीका धेरै किस्सा प्रसिद्ध छन् ।

गिरीश कुबेर टाटा समूहको आफ्नो प्रसिद्ध पुस्तक ‘द टाटास हाउ अ फ्यामिली बिल्ट ए बिजनेस एण्ड नेशन’ मा लेख्छन्, “जब उनी टाटा सन्सको प्रमुख भए, जेआरडीको कोठामा बसेनन् । उनले आफू बस्न एउटा सानो कोठा बनाए । जुनियर अफिसरसँग कुरा गर्दा कोही सिनियर अफिसर आइपुग्दा उनलाई पर्खन भन्थे ।”

पुस्तकमा लेखिएको छ, “उनीसँग दुईवटा जर्मन शेफर्ड कुकुर ‘टिटो’ र ‘ट्याङ्गो’ थिए, जसलाई उनले असाध्यै माया गर्थे । कुकुरप्रति उनको प्रेम यति हदसम्म थियो कि जब उनी बम्बे हाउसमा आफ्नो कार्यालयमा पुग्थे, सडकका कुकुरले उनलाई घेरेर लिफ्टसम्म लिएर जान्थे । यी कुकुर प्रायः बम्बे हाउसको लबीमा हिँडिरहेका देखिन्थे, जबकि त्यहाँ केबल टाटा कम्पनीका कर्मचारी र भेट्न पूर्वअनुमति भएका व्यक्तिलाई मात्र प्रवेश दिइन्थ्यो ।”

रतनका पूर्व सहायक आर वेंकटरामननलाई आफ्नो मालिकसँगको उनको निकटताको बारेमा सोधिएको थियो । उनले जवाफमा भनेका थिए, “धेरै कम मानिसले टाटालाई नजिकबाट चिन्छन् । हो, त्यहाँ दुई व्यक्ति छन्, जो उहाँसँग धेरै नजिक छन् । ती हुन्— ‘टिटो’ र ‘ट्यांगो’ । जर्मन शेफर्ड कुकुरबाहेक कोही पनि उहाँको नजिक आउन सक्दैन ।”

प्रख्यात व्यापारी तथा लेखक सुहेल सेठ पनि एउटा किस्सा सुनाउँछन्, “फेब्रूअरी ६, २०१८ मा बेलायतका राजकुमार चार्ल्सले बकिङ्घम प्यालेसमा रतन टाटालाई परोपकारी कार्यको लागि ‘रकफेलर फाउन्डेसन लाइफटाइम अचिभमेन्ट’ अवार्ड दिने तयारी गरेका थिए । तर, समारोहको केही घण्टाअघि रतन टाटाले आफ्नो कुकुर टिटो अचानक बिरामी परेकाले आउन नसकेको आयोजकलाई जानकारी गराएपछि चार्ल्सलाई यो कथा भनिएको थियो ।”

देखावटीबाट टाढा

रतन टाटा उनका हजुरबुवा जेआरडी जस्तै आफ्नो समयनिष्ठताका लागि परिचित थिए । उनी साढे ६ बजे अफिसबाट निस्कन्थे । अफिसको कामका लागि घरमा कसैले सम्पर्क गरेमा उनी प्रायः रिसाउने गर्थे । उनी आफ्नो घरको एकान्तमा फाइल र अन्य कागज पढ्थे ।

उनी मुम्बईमा रहँदा आफ्नो अलिबागको फार्म हाउसमा बिदाको समय बिताउँथे । त्यो बेला उनको साथमा कुकुरबाहेक कोही हुन्थेन । उनलाई न घुम्ने मन थियो, न भाषण दिने ।

देखावटी संसारबाट टाढा रहन चाहने रतनलाई बाल्यकालमा परिवारको रोल्स रोयस कारले स्कूलसम्म पुर्‍याउँदा असहज महसुस हुन्थ्यो । रतन टाटालाई नजिकबाट चिन्नेहरूले उनको जिद्दी स्वभाव पारिवारिक विशेषता भएको बताउँछन् ।

सुहेल सेठ भन्छन्, “टाउकोमा बन्दुक हाने पनि रतनजीले भन्नुहुन्छ, मलाई गोली हान तर, म बाटोबाट हट्दिनँ ।”

आफ्नो पुरानो साथीको बारेमा कुरा गर्दै बम्बे डाइङका प्रमुख नुस्ली वाडियाले भने, “रतन एकदमै जटिल पात्र हो । मलाई लाग्दैन कि कसैले उहाँलाई पूर्ण रूपमा चिनेको छ । उहाँ धेरै गहिरो व्यक्ति हुनुहुन्छ । हाम्रो निकटताको बाबजुद पनि उहाँ पूर्णतया एक्लो हुनुहुन्छ ।”

कुमी कपूरले आफ्नो पुस्तक ‘एन इन्टिमेट हिस्ट्री अफ पारसिस’मा लेखेकी छिन्, “रतन आफ्नो गोपनीयतालाई धेरै महत्त्व दिन्छन् । उनी आफैँ भन्थे— म धेरै मिलनसार छैन तर, म समाज विरोधी पनि होइन ।”

हजुरआमा नवाजले हुर्काइन्

रतनका युवा उमेरका साथीका अनुसार उनी प्रारम्भिक दिनमा आफ्नो थरलाई बोझ ठान्थे । अमेरिकामा पढ्दा उनका सहपाठीलाई उनको पारिवारिक पृष्ठभूमिबारे थाहा थिएन ।

रतन टाटाले कुमी कपूरसँगको एक अन्तर्वार्तामा भनेका थिए, “त्यतिबेला रिजर्भ बैंकले विदेशमा पढ्नको लागि धेरै कम विदेशी मुद्रा प्रयोग गर्न अनुमति दिएको थियो । मेरो बुवा कानून तोड्ने मूडमा हुनुहुन्थ्यो । त्यसैले अक्सर महिनाको अन्त्य हुनुअघि मेरो पकेट-मनी सकिन्थ्यो र साथीहरूसँग पैसा उधारो लिनुपर्थ्यो ।”

रतन १० वर्षको हुँदा आमाबुवाको सम्बन्धविच्छेद भयो । १८ वर्षको हुँदा उनका बुबाले स्वीस महिला सिमोन डुनोयरसँग विवाह गरे । अर्कोतर्फ उनकी आमाले सम्बन्धविच्छेदपछि सर जमशेदजी जीजीभोयसँग विवाह गरिन् । रतनलाई उनकी हजुरआमा लेडी नवाजबाई टाटाले हुर्काएकी हुन् ।

रतन सात वर्ष अमेरिका बसे । त्यहाँ उनले कर्नेल विश्वविद्यालयबाट आर्किटेक्चर र इन्जिनियरिङमा डिग्री लिए । लस एन्जलसमा उनको राम्रो जागिर र राम्रो घर थियो । तर, हजुरआमा र जेआरडीको आग्रहमा उनी भारत फर्किए ।

त्यो समय उनकी अमेरिकी प्रेमिका पनि उनीसँगै भारत आएकी थिइन् तर, उनी यहाँको जीवनसँग घुलमिल हुन नसकेर अमेरिका फर्किइन् । त्यसपछि रतन टाटा जीवनभर अविवाहित रहे ।

साधारण मजदुरबाट करिअर सुरु

सन् १९६२ मा रतन टाटाले जमशेदपुरको टाटा स्टिलमा काम गर्न थाले ।

गिरीश कुबेर लेख्छन्, “रतन जमशेदपुरमा छ वर्षसम्म निलो ओभरल लगाएर पसलमा काम गर्ने कामदारको रूपमा बसे । त्यसपछि उनलाई प्रोजेक्ट म्यानेजर बनाइयो । त्यसपछि उनी प्रबन्ध निर्देशक एसके नानावतीको विशेष सहायक भए । त्यहाँ उनको कडा परिश्रम देखेर हजुरबुवा जेआरडी टाटाले उनलाई बम्बई बोलाए ।”

त्यसपछि उनले एक वर्ष अस्ट्रेलियामा काम गरे । हजुरबुवा जेआरडीले उनलाई बिग्रिएका र बन्द हुने अवस्थामा रहेका कम्पनीहरू सेन्ट्रल इन्डिया मिल्स र नेल्कोलाई सुधार्ने जिम्मेवारी दिए ।

रतनको नेतृत्वमा तीन वर्षमा नेल्कोले नाफा कमाउन थाल्यो । त्यसपछि सन् १९८१ मा जेआरडीले रतनलाई टाटा इन्डस्ट्रिजको प्रमुख बनाए ।

यद्यपि, यस कम्पनीको कारोबार ६० लाख मात्रै भए पनि त्यो जिम्मेवारी महत्त्वपूर्ण थियो । जेआरडी आफैँले यस कम्पनीको कामको प्रत्यक्ष हेरचाह गरेको भएर पनि त्यो कम्पनी उनका लागि एकदमै विशेष थियो ।

सरल जीवन शैली

त्यतिबेलाका व्यवसायी, पत्रकार र रतनका साथीहरूले उनलाई मिलनसार, संस्कारी र चाखलाग्दो व्यक्तिको रूपमा सम्झन्छन् । उनलाई जो-कोहीले पनि भेट्न सक्थ्यो र आफैँ फोनको जवाफ दिन्थे ।

कुमी कपूर लेख्छन्, “अधिकांश भारतीय अर्बपतिको तुलनामा रतनको जीवनशैली धेरै नियन्त्रित र सरल थियो । सेक्रेटरीहरूको भीड नभएको देखेर उनका एक व्यापारिक सल्लाहकार नै चकित परेको मसँग बताएका थिए ।”

उनी थप भन्छन्, “एक पटक मैले उनको घरको ढोकाको घण्टी बजाउँदा एउटा सानो केटाले ढोका खोल्यो । त्यहाँ कुनै देखावटी पन थिएन । कुम्बला हिल्समा मुकेश अम्बानीको २७ तले एन्टिलियाको चमकधमकको ठीकविपरीत कोलाबामा समुद्रतर्फ फर्किएको उनको घरले उनको सादगीपनलाई दर्साउँथ्यो ।”

हजुरबुवाले चुने उत्तराधिकारी

जेआरडी ७५ वर्षको भएपछि उनको उत्तराधिकारी को हुने भन्नेबारे धेरै अनुमानहरू थिए ।

टाटा जीवनीकार केएम लालाले लेखेका छन्, “जेआरडी… नानी पालखीवाला, रुसी मोदी, शाहरुख सबवाला र एचएन सेठनामध्ये कसैलाई आफ्नो उत्तराधिकारी बनाउने सोचमा थिए । रतन टाटा आफैँले पनि यो पदका लागि दुई मुख्य दाबेदार पालखीवाला र रुसी मोदी हुने विश्वास गरेका थिए ।”

तर, त्यसो हुन पाएन । सन् १९९१ मा जेआरडीले ८६ वर्षको उमेरमा अध्यक्ष पद छाड्दै रतनलाई त्यसको जिम्मेवारी सुम्पिए ।

जेआरडी रतनको पक्षमा उभिनुको सबैभन्दा महत्त्वपूर्ण कडी भनेको उनको ‘टाटा’ थर थियो । जेआरडीका साथीहरू नुस्ली वाडिया र सहायक शाहरुख सबवालाले पनि रतनलाई नै उत्तराधिकारी बनाउन सुझाव दिएका थिए । त्यसपछि उनी सन् २५ मार्च १९९१ मा टाटा समूहको अध्यक्ष भए ।

टेटली, कोरस र जगुआरको अधिग्रहण

सुरुमा मानिसहरूले रतन टाटाको व्यावसायिक बुद्धिमत्तामा धेरै प्रश्नहरू उठाए । तर, सन् २००० मा उनले आफ्नो आकारभन्दा दोब्बर बेलायती ‘टेटली’ समूह प्राप्त गरेर मानिसलाई चकित पारे ।

आज टाटाको ग्लोबल बेभरेज विश्वको दोस्रो ठूलो चिया कम्पनी हो । यसपछि उनले युरोपको दोस्रो ठूलो स्टील निर्माण कम्पनी ‘कोरस’ किनेका थिए । आलोचकले यस सम्झौताको बुद्धिमत्तामा प्रश्न उठाए तर, टाटा समूहले यस कम्पनीसँग आफ्नो क्षमता प्रमाणित गर्‍यो ।

सन् २००९ को दिल्ली अटो एक्सपोमा उनले जनताको कार ‘नानो’ अनावरण गरेका थिए, जसको मूल्य १ लाख भारु मात्रै थियो । नानोभन्दा पहिले १९९८ मा टाटा मोटर्सले बजारमा इन्डिका कार ल्याएको थियो, जुन भारतमा डिजाइन गरिएको पहिलो कार थियो ।

यो कार सुरुमा असफल भयो र रतनले यसलाई फोर्ड मोटर कम्पनीलाई बेच्ने निर्णय गरे । जब रतन डेट्रोइट गए, बिल फोर्डले उनलाई यो व्यवसायको बारेमा पर्याप्त जानकारी बिना किन यो क्षेत्रमा प्रवेश गरे भनेर सोधे ।

उनले टाटालाई ‘इन्डिका’ किनेको खण्डमा भारतीय कम्पनीलाई ठूलो फाइदा हुने बताए । यस व्यवहारबाट रतन टाटाको टोली आक्रोशित भयो र कुराकानी पूरा नगरी ठाउँ छोड्यो ।

एक दशकपछि स्थिति परिवर्तन भयो र २००८ मा फोर्ड कम्पनी गहिरो आर्थिक सङ्कटमा पर्‍यो र ब्रिटिश लक्जरी ब्रान्ड जगुआर र ल्यान्ड रोभर बेच्ने निर्णय गर्‍यो ।

कुमी कपूर लेख्छन्, “त्यसपछि बिल फोर्डले स्वीकार गरे कि भारतीय कम्पनीले फोर्डको लक्जरी कार कम्पनी किनेर उहाँलाई ठूलो उपकार गर्नेछ । रतन टाटाले यी दुवै प्रसिद्ध ब्रान्डहरू अमेरिकी डलर २.३ बिलियनमा खरिद गरे ।”

जगुआर किनेकोमा टाटाको आलोचना 

तर, केही व्यापार विश्लेषकले रतन टाटाको यी ठूला खरिदमा पनि प्रश्न उठाएका छन् । उनको तर्क थियो कि रतनका धेरै महङ्गा विदेशी अधिग्रहण उपलब्धिमूलक भएनन् । “टाटा स्टील यूरोप सेतो हात्ती साबित भयो र समूहलाई ठूलो ऋणमा डुबायो ।”

टीएन नैनानले लेखेका छन्, “यसो हुनुमा रतनको विश्वव्यापी दाउ, अहङ्कार र खराब समयको मिश्रण थियो ।”

एक वित्तीय विश्लेषकले भनेका छन्, “भारतीय व्यापारमा पछिल्लो दुई दशकमा सबैभन्दा ठूलो अवसर टेलिकममा थियो तर, रतनले कम्तीमा सुरुमा यसलाई गुमाए ।”

चर्चित पत्रकार सुचेता दलालले भनिन्, “रतनले एकपछि अर्को गल्ती गरे । ‘जागुआर’ किनेर उनको समूह आर्थिक बोझले दबिएको थियो । तर, टाटा कन्सल्टेन्सी सर्भिस अर्थात् टीसीएस ले टाटा समूहलाई सधैँ अग्रस्थानमा राख्यो ।”

यस कम्पनीले सन् २०१५ मा टाटा समूहको खुद नाफामा ६० प्रतिशतभन्दा बढी योगदान गरेको थियो । सन् २०१५ मा यो कम्पनीले कुनै पनि भारतीय फर्मको सबैभन्दा ठूलो बजार पुँजीकरण थियो, अम्बानीको रिलायन्स भन्दा पनि अगाडि ।

निरा राडिया, तनिष्क र साइरस मिस्त्रीसँग सम्बन्धित विवाद

सन् २०१० मा रतन टाटा एक ठूलो विवादमा फसे, जब उनको लबिस्ट नीरा राडियासँगको टेलिफोन कुराकानी लिक भयो ।

अक्टोबर २०२० मा टाटा समूहको आफ्नै आभूषण ब्रान्ड ‘तनिष्क’को विज्ञापन हतारमा फिर्ता लिएकोमा रतन टाटाको पनि आलोचना भएको थियो । यो विज्ञापनले सबै धर्मलाई समान मान्ने एकीकृत भारतको मार्मिक चित्रण गरेको थियो ।

अन्ततः दबाबका कारण ‘तनिष्क’ले त्यो विज्ञापन फिर्ता लिनुपरेको थियो । अक्टोबर २४, २०१६ मा टाटा समूहका अध्यक्ष साइरस मिस्त्रीलाई एक घण्टाभन्दा कम समयको सूचनामा बर्खास्त गर्दा पनि रतन विवादमा परे ।

टाटा भरपर्दो ब्रान्ड

तर, यी सबैको बाबजुद रतन टाटालाई सधैँ भारतका सबैभन्दा भरपर्दो उद्योगपतिमा गनिन्थ्यो । भारतमा कोभिड महामारी फैलिएपछि रतन टाटाले तत्कालै टाटा ट्रस्टबाट ५०० करोड र टाटा कम्पनीमार्फत १००० करोड रुपैयाँ महामारी र तालाबन्दीको आर्थिक नतिजा सामना गर्नका लागि दिए ।

रतन टाटा आफैँलाई गम्भीर जोखिममा राख्ने डाक्टर र स्वास्थ्यकर्मीलाई समायोजन गर्न आफ्नो विलासी होटलको प्रयोग प्रस्ताव गर्ने पहिलो व्यक्ति थिए ।

आज पनि भारतीय ट्रक चालकहरूले ट्रक टाटाको हो र त्यसैले भरपर्दो छ भनी देखाउन आफ्नो गाडीको पछाडि ‘ओके टाटा’ लेख्छन् ।

टाटाको पनि ठूलो ग्लोबल फुटप्रिन्ट छ । यसले जागुआर र ल्यान्ड्रोभर कार उत्पादन गर्छ र टाटा कन्सल्टेन्सी सर्भिसेस विश्वको प्रसिद्ध सफ्टवेयर कम्पनीमध्ये एक हो । यो सबै बनाउन रतन टाटाको भूमिका सधैँ स्मरणीय रहनेछ ।

बीबीसी हिन्दीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved