अङ्ग्रेजी शब्द ‘रेजिलिएन्सी’को ठ्याक्कै नेपाली शब्द के हो, थाहा छैन । लचिलोपन, बलियो, अन्तर्निहित क्षमता, दृढता, आत्मबल, प्रतिरक्षाजस्ता अनेक शब्द छन् तर, ठ्याक्कै के हो थाहा छैन । त्यसैले यो लेखमा ‘रेजिलिएन्सी’ शब्द नै प्रयोग गर्नेछु, पाठकले मिलाएर बुझ्नुहोला ।
सन्दर्भ भर्खरको बाढी, पहिरो र वर्षा विपद्को हो । देशभरि दुई सयभन्दा बढीको ज्यान गयो । राजधानी सीमाबाट २ किमि पर झ्याप्लेखोला पहिरोमा लगभग तीनदेखि चार दर्जन ज्यान पुरिँदा ४८ घण्टासम्म बेखबर राज्य संयन्त्रको कुरा त छँदैछ, देशभरि अर्बौँको सम्पति पनि नष्ट भयो । यातायात व्यवस्था धराशायी भयो । आपूर्ति व्यवस्था ठप्प भयो ।
काठमाडौं उपत्यकामा नसोचिएको मात्रामा वर्षा भयो र अकल्पनीय जनधनको क्षति भयो । हरेकपटक जस्तै काठमाडौं उपत्यका विशेष सङ्कटमा फस्यो ।
यस्तो विपद्को बेला देशको अभिभावक र प्रधानमन्त्री ११ दिने अमेरिका भ्रमण र भाषणमा व्यस्त थिए । कार्यवाहक प्रधानमन्त्री किंकर्तव्यविमुढ थिए । गृहमन्त्री र सरकारका संयन्त्रहरूले भेउ नै पाउन सकेन, केही सोच्नै सकेन । प्राकृतिक विपद् हावाहुण्डरीसरी आए, गए । नालायक सरकार हेरेको हेर्यै भयो ।
यहाँसम्म कि प्रदेश र स्थानीय सरकारहरू पनि भट्टी र दोहोरी साँझबाट निस्कँदासम्ममा कुरा सिद्धिसकेको थियो । केही महामेयरहरू त ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्ग’ले भन्दै थिए, खुच्चिङ गर्दै थिए ।
तर, आज सरकारको कुरा गर्न खोजेको हैन, कुरा आम र साधारण जनताको गर्न खोजिएको हो । र प्रश्न छ, नेपाली समाजको रेजिलिएन्सी कति छ ? र उत्तर पनि सरल र संक्षिप्त छ । नेपाली समाजको रेजिलिएन्सी कमालको छ ।
१२ असोजका दिन ललितपुरको इमाडोलमा कर्मनाशा खोलाको किनारका पूरै वस्ती डुबानमा थिए । तैपनि कुनै कोकोहोलो कोहराम केही थिएन । मान्छेहरू आवश्यक उद्धार र बचावमा देखिन्थे । कसैको कुनै प्रतीक्षा थिएन, सक्ने कुरा सबैले गरिरहेका थिए ।
बाढी र डुबानको भोलिपल्ट सबैले सरसफाइ गरिरहेको देखियो र वरिपरिका सम्पूर्ण पसलहरू चिरिच्याट्ट सजिएका देखियो र पसलेहरू बिहानै देखि टुकुरटुकुर ग्राहक कुरिरहेको देखियो ।
स्थानीयहरू घर सफा गरिवरी बिहानैदेखि चिया पसलमा चुस्की लिन थालिसकेका थिए । साँझसम्ममा करिब करिब पूरै वस्ती गुलजार र सामान्य देखियो । बाहिरबाट आउने तरकारीहरू महङ्गो भए पनि स्थानीय उत्पादनहरू जस्तो तोरीको साग र इसकुसहरू सस्तो थियो । साना-ठूला सब कारोबारी नित्य काममा फर्केको देखियो । यस्तो लाग्यो, मानौँ दुई दिनअघि केही भएकै थिएन । र, यो कथा पूरै उपत्यकाको हो जस्तो लाग्छ ।
सामाजिक सञ्जाल हेर्दा यो कथा पूरै देशको हो जस्तो लाग्छ । खुर्कोटका एक जनाले आफ्नो घर सुनकोशीले बगाउँदै गर्दाको भिडियो शेयर गर्छन् र भन्छन् कि पूरै खुर्कोट बगायो, देशै बगायो । यो दिन देख्नुपर्ला भन्ने सोचेकै थिएन । भन्छ, यो प्रलय हो, के गर्ने ? यो एउटा प्रतिनिधि उदाहरण हो । यस्ता सयकडौं उदाहरणहरू छन् देशभरि । र, यी सबै कुराले सङ्कटको गम्भीरता र आयतन बयान गरेको छ । विकसित देशहरूमा यतिको सङ्कट जाँदा संसारभरि कोकोहोलो मच्चिन्छ ।
नेपालीले जनयुद्ध कालमा पनि चरम कठिनाइ र सङ्कटहरू देखेका हुन् । २०७२ सालका भूकम्प पनि झेलेका हुन् । लगत्तै संविधान जारी भएपछि छ महिनासम्मका आन्तरिक द्वन्द्व र आपूर्ति सङ्कट पनि झेलेका हुन् । यी सबै सङ्कटमा एउटा कुरा समान देखिन्छ र त्यो हो- सरकारविहीनता र सरकारको अनुपस्थिति ।
हरेक ठूला सङ्कट नेपाली समाजले स्वयम् बेहोर्ने गरेका छन् र त्यसको समाधान पनि हरेकपटक समाजकै अग्रसरतामा हुने गरेको छ । यो नेपाली समाज अत्यन्त ‘रेजिलिएन्ट’ भएको सङ्केत र प्रमाण हो ।
फेरि एउटा साधारण उदाहरण हेरौँ । अहिले काठमाडौंमा तरकारी सङ्कट छ । घरधनी आज के तरकारी खाने भनेर बेहाल छ । भुइँतल्लामा बहाल बसेको तराईतिरका मानिसले यो खानुस् न हजुर भन्दै केही अदैरी र बिरिया (एक प्रकारको मस्यौरा) दिन्छन् । घरधनीको तरकारी सङ्कट दुई छाकको लागि टर्छ ।
नेपाली समाज अनेक खालका समुदायबाट बनेको छ । सङ्कटमा यी समुदाय एक अर्काका परिपूरक बन्छन् सांस्कृतिक तवरले । पहाडी (मधेसी, चुच्चे) थेप्चे भनेर झगडा पनि गर्छन् तर, आइपरेको बेला एक अर्काका सहयोगी र परिपूरक पनि बन्छन् । र, यही विविधता र फरक पहिचानको समग्रताले नेपाली समाजलाइ रेजिलिएन्ट बन्न मद्दत गरेको छ ।
विविधता समाजमा मात्र हैन, नेपालीको खेत र करेसाबारीमा पनि देखिन्छ । अति व्यवसायीकरणको मारबाट नेपाली समाज अहिले पनि सुरक्षित छ । नग्न पुँजीवादको आँखाबाट यो कमजोरी हो जस्तो लाग्ला तर, दीगोपन र सामाजिक सबलताको कोणबाट यो नेपाली समाजको सबल पक्ष देखिन सक्छ ।
शहरमा बस्ने प्रायः परिवारको गाउँमा पनि केही न केही जग्गा जमीन छ । यसरी प्रायः नेपाली परिवार कृषिसँग जोडिएका छन् । यो तथ्य पनि नेपाली समाजलाइ रेजिलिएन्ट बन्न र रहिरहन मद्दत गरेका छन् । उपत्यका होस् कि नेपालका कुनै पनि गाउँ शहर, खेत करेशाबारी र नजिकका वनजङ्गल खोलानालाले पनि नेपाली समाजलाई रेजिलिएन्ट बन्न सघाएका छन् । आधुनिकता त नेपाललाई पनि चाहिन्छ तर, हाम्रो गाउँ ठाउँ समाजको दीगो चरित्रलाइ मास्ने गरी हैन ।
नेपालमा कुनै पनि सङ्कट चाहे ती प्राकृतिक होस् या मानवश्रृजित, नेपाली समाजले स्वयम्सेवी रूपमा निपटारा गरेका छन् । अहिले विदेशमा श्रमको राम्रो मूल्य पाएर बानी बिग्रिने डर भएता पनि स्वयम्सेवा नेपालीको हड्डीमै देखिएको छ ।
भूकम्प २०७२ को बेला पनि देखियो । यत्रो विनाशलाई पनि नेपालीले एक अर्कासँग मिलेर पराजित गरिदिए । सरकार र एजेन्सीहरूको भ्रष्टाचार नकारापन देखिएकै हो त्यसमा पनि । तर, सामाजिकताको बलले नेपालीले भुकम्पको त्यत्रो त्रासदी पनि केही वर्षमै समापन गरिदिए । र, फेरि पनि मुद्रा मूल्यको गणना गरेनन् नेपालीले ।
हामीले बुझ्नुपर्छ के कुराले हामीलाई सङ्कटग्रस्त बनाइरहेका छन् । नेपालका जमिन, खोलानाला, सीमसार, वनजङ्गल, हावापानी सबै मिलेका छन् प्राकृतिक तवरले नै । यहाँसम्म कि समाज पनि यो त नेताहरू हो, जसका भ्रष्टाचार, लुटखसोट र गलत नीतिहरूका कारण हामी दिनानुदिन सङ्कटग्रस्त बन्दै गइरहेका छौँ । जमिनको दलाली, गिटी बालुवाको अन्तर्राष्ट्रिय तस्करी, खोलानालाको अवैध बिक्री र यस्तै खालका अमूल्य प्राकृतिक श्रोतको लुटखसोटबाट मानवश्रृजित समस्या सामना गरिरहेका छौँ हामी ।
नेपाली समाजको बनावटमै दीगो जीवनयापन (सस्टेनेबल लाइभलिहुड) का हरेक तत्त्व विद्यमान छन् । यहाँका आदिवासी ज्ञान र प्रणालीले यहाँ विश्वका अरू देशमा जस्तो भोकमरी हुन दिएका छैनन् र हरेक सङ्कट वा घाउ स्वतः निको पार्नसक्ने क्षमता दिएका छन् । तर, बिडम्वना के हो भने देशको नेतृत्वले यो तथ्य बुझ्न सकेको छैन वा बुझ्न चाहिरहेको छैन । देश र समाजका हरेक चासोमाथि नीति र नेतृत्वको निहित स्वार्थ हाबी भएका छन् ।
श्रीलङ्काका जनता बन्दरगाह र एयरपोर्टहरू बचाउन र बंगलादेशी नदी, टापु र बन्दरगाह बचाउन नेताहरूविरूद्ध क्रान्ति गरेजस्तै नेपालीले पनि तराई, पहाड, हिमालको पवित्रता बचाउन अनि माटो, पानी, बालुवा, गिट्टी, काठ, पहरा, कन्दरा बचाउन केही न केही गर्नुपर्ने आवश्यकता टड्कारो देखिँदैछ ।
एउटा कुरा दाबीका साथ भन्न सकिन्छ कि नेपालको हित ठूला र विशाल परियोजनामा छैन । नेपालका डाँडा, पाखा र कलिला पहरा कुनै अमूक नेता र दलको स्वार्थको बलिदेवी बन्नु हुँदैन । सानो सुन्दर हुन्छ (स्मल इज ब्यूटिफुल) । नेपालको हित सानो र सुन्दरमै छ । केही आधारभूत ठूलाबाहेक नेपालले साना र सुन्दर परियोजनामा नै बढी ध्यान दिनु उपयुक्त हुन्छ । विशाल नेपालीको सपना बाँड्न छोड्नुपर्छ ।
पाटन र झोंछेका गल्लीमा के खराबी छ ? ऐतिहासिक शहरलाई जीवित सङ्ग्रहालय (लाइभ म्युजियम) बनाउँ र गाउँलाई गाउँ नै रहन दिउँ । यसैमा आम नेपालीको कल्याण देखिन्छ । बाँकी त मृग मरिचिका सरी ।
Facebook Comment
Comment